पोखरा, फागुन २९, २०८२ (शुक्रबार)
दिव्य शान्ति रिट्रिट सेन्टर तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयका कर्मचारी तथा प्राध्यापकहरूका लागि “Values in Healthcare: A Spiritual Approach” विषयक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सभाहलमा आयोजना गरिएको थियो।
कार्यक्रममा भारतबाट पाल्नुभएका डा. मनोज भटानीले “Building Resilience, Values, Peace, Positivity, Valuing Yourself and Spirituality in Professional Life” लगायत विषयमा अन्तरक्रियात्मक प्रस्तुति दिनुभएको थियो। उहाँले व्यावसायिक जीवनमा आध्यात्मिकता, सकारात्मक सोच र आत्ममूल्यको महत्वबारे सहभागीहरूलाई जानकारी गराउँदै जीवनलाई सकारात्मक दिशामा अघि बढाउन आवश्यक उपायहरूबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा डा. मनोज भटानीका साथै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयबाट ब्रह्माकुमारी सबिता तथा दिव्य शान्ति रिट्रिट सेन्टरबाट ब्रह्माकुमारी मञ्जु लगायत अन्य सहजकर्ताहरूको पनि उपस्थिति रहेको थियो। आगन्तुक अतिथिहरूलाई पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका निर्देशक प्रा.डा. विनयकुमार मिश्र र विश्वविद्यालयका सह–प्रशासक तारा सापकोटाले स्वागत गर्नुभएको थियो।
कार्यक्रम अवधिभर विभिन्न अन्तरक्रियात्मक क्रियाकलापहरू सञ्चालन गर्दै सहभागी कर्मचारी तथा प्राध्यापकहरूलाई जीवनमा सकारात्मकता कसरी विकास गर्ने र सकारात्मक ऊर्जालाई कसरी उजागर गर्ने भन्ने विषयमा ज्ञान प्रदान गरिएको थियो। कार्यक्रममा पोखरा विश्वविद्यालयका विभिन्न निकायका कर्मचारी तथा प्राध्यापकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. दीपाञ्जल श्रेष्ठले पोखरा विश्वविद्यालयका तर्फबाट आगन्तुक अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। त्यसैगरी योजना तथा कार्यक्रम महाशाखा प्रमुख सह–प्रा.इ. प्रकाश बहादुर अधिकारीले कार्यक्रमका प्रमुख वक्ता डा. मनोज भटानीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।