पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह सम्पन्न, ६,६२२ विद्यार्थी दीक्षित

22/02/2026

२०८२ फागुन ८ गते, शुक्रबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न भएको छ। यस वर्ष विश्वविद्यालयका विभिन्न सङ्कायअन्तर्गत स्नातक, स्नातकोत्तर तथा एम.फिल तहमा गरी कुल ६,६२२ विद्यार्थी दीक्षित भएका छन्। तीमध्ये व्यवस्थापन अध्ययन सङ्कायबाट सबैभन्दा बढी ३,६२५ विद्यार्थी दीक्षित भएका छन्, जसमा ५३५ जना स्नातकोत्तर र ३,०९० जना स्नातक तहका रहेका छन्।

त्यसैगरी, विज्ञान तथा प्रविधि सङ्कायबाट २,५०६ विद्यार्थी दीक्षित भएका छन्, जसमा २९० जना स्नातकोत्तर र २,२१६ जना स्नातक तहका छन्। स्वास्थ्य विज्ञान सङ्कायबाट ३६५ विद्यार्थी (५७ स्नातकोत्तर र ३०८ स्नातक) दीक्षित भएका छन् भने मानविकी तथा सामाजिक विज्ञान सङ्कायबाट १२६ विद्यार्थी (४३ एम.फिल, ३३ स्नातकोत्तर र ५० स्नातक) दीक्षित भएका छन्।

शैक्षिक उत्कृष्टताका आधारमा यस वर्ष कुल ६६४ विद्यार्थी डिन्स लिस्टमा परेका छन्, जुन कुल दीक्षित संख्याको करिब १० प्रतिशत हो। व्यवस्थापन अध्ययन सङ्कायबाट ३७७, विज्ञान तथा प्रविधिबाट १९०, स्वास्थ्य विज्ञानबाट ८२ तथा मानविकी तथा सामाजिक विज्ञानबाट १५ विद्यार्थी उत्कृष्ट सूचीमा परेका छन्। यसले विश्वविद्यालयमा प्रतिस्पर्धात्मक र गुणस्तरीय शैक्षिक वातावरण कायम रहेको देखाएको छ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै हासिल गरेको ज्ञान, सीप र क्षमतालाई राष्ट्र निर्माण, नवप्रवर्तन र समृद्धिमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले उच्च शिक्षा केवल प्रमाणपत्रमा सीमित नहुने उल्लेख गर्दै उद्यमशीलता, रोजगारी सिर्जना, अनुसन्धान र सामाजिक रूपान्तरणसँग जोडिनुपर्ने धारणा राख्नुभयो। युवाहरूको विदेश पलायन रोक्न विश्वविद्यालयहरूले व्यवहारिक, समयसापेक्ष तथा रोजगारमुखी शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै देशभित्रै अवसर सिर्जना गर्न सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज के.सी.ले विश्वविद्यालयले व्यवहारिक, रोजगारमुखी तथा नवप्रवर्तनमा आधारित शिक्षा प्रदान गर्दै राष्ट्रका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउनुभयो। हालसम्म हजारौँ विद्यार्थी दीक्षित भई देश तथा विदेशका विभिन्न क्षेत्रमा योगदान दिइरहेको उल्लेख गर्दै उहाँले यस वर्ष पनि ६,६२२ विद्यार्थी दीक्षित भएको जानकारी दिनुभयो। विश्वविद्यालयले छात्रवृत्ति विस्तार, अनुसन्धान प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य, नयाँ प्रविधिमा आधारित शैक्षिक कार्यक्रम सञ्चालन तथा स्वास्थ्य सेवा विस्तारमार्फत गुणस्तरीय शिक्षामा जोड दिएको बताउँदै दीक्षित विद्यार्थीहरूलाई आफ्नो ज्ञान र अनुभवलाई राष्ट्र निर्माण, सामाजिक रूपान्तरण तथा आर्थिक विकासमा उपयोग गर्न आग्रह गर्नुभयो।

यसैगरी, समारोहका प्रमुख अतिथि चाँदनी जोशीले शिक्षा केवल उपाधि प्राप्त गर्ने माध्यम नभई समाज रूपान्तरण, न्याय र समावेशी विकासको आधार भएको बताउनुभयो। उहाँले दीक्षित विद्यार्थीहरूलाई आफ्नो ज्ञान, सीप र मूल्यलाई समाजको सकारात्मक परिवर्तन, नवप्रवर्तन, उद्यमशीलता र राष्ट्र निर्माणमा प्रयोग गर्न आग्रह गर्दै शिक्षित युवाहरू परिवर्तनका संवाहक भएको उल्लेख गर्नुभयो। प्रविधि, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी परिवर्तनका चुनौतीबीच नैतिकता, समावेशिता र प्रभावकारी नेतृत्वको भूमिका अझ महत्वपूर्ण भएको बताउँदै उहाँले शिक्षालाई अवसरका साथै उत्तरदायित्वका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

Next Articles