पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा मस्तिष्कघात सम्बन्धी CME कार्यक्रम सम्पन्न

30/12/2025

२०८२ पौष १४ गते, सोमबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, पोखराको आयोजनामा मस्तिष्क घात (Stroke) सम्बन्धी निरन्तर चिकित्सकीय शिक्षा (CME) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सत्रको सभापतित्व पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. सि. पि. आचार्यले गर्नुभएको थियो। उद्घाटन समारोहमा निर्देशक डा. आचार्यले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरी औपचारिक रूपमा CME कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

उद्घाटन सत्रमा CME कार्यक्रमका संयोजक डा. विष्णु भण्डारीले कार्यक्रमको उद्देश्य र उपादेयतामाथि प्रकाश पार्दै मस्तिष्क घातजस्तो समय–संवेदनशील रोगको प्रभावकारी व्यवस्थापनका लागि यस्ता शैक्षिक कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो । सो अवसरमा अस्पतालका निवर्तमान निर्देशक डा. मदन खड्काले स्वागत मन्तव्यका माध्यमबाट सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रमका स्रोत व्यक्ति डा. रामचन्द्र सुवेदी, Consultant Neurologist, Grandee International Hospital, काठमाडौंले मस्तिष्क घातको परिचय, प्रकार, जोखिम कारक, रोकथाम, Acute Stroke Management, Rehabilitation तथा दीर्घकालीन हेरचाहसम्बन्धी विषयमा विस्तृत प्रस्तुति दिनुभएको थियो। साथै, केस आधारित छलफल तथा प्रश्नोत्तर सत्रमार्फत सहभागीहरूबीच अन्तरक्रियात्मक छलफलसमेत भएको थियो।

कार्यक्रममा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक, मेडिकल अफिसर, नर्सिङ्ग कर्मचारी तथा अन्य सम्बन्धित स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले Stroke बिरामीको प्रारम्भिक पहिचान तथा आपतकालीन व्यवस्थापनमा यस्तो CME कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया व्यक्त गरेका थिए ।

अस्पतालले यस्ता CME कार्यक्रमहरूले स्वास्थ्यकर्मीहरूको ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी र प्रमाणमा आधारित बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रम सञ्चालन अस्पतालका उप–प्रशासक ढाकामोहन बरालले गर्नुभएको थियो।