२०८२ पौष ९ गते बुधबार, पोखरा–३०, कास्की
नेपालका लागि दक्षिण कोरियाली महामहिम राजदूत Park Tae-young ले पोखरा–३०, ढुंगेपाटन, कास्कीमा अवस्थित पोखरा विश्वविद्यालय परिसरको भ्रमण गर्नुभएको छ। राजदूतसहितको भ्रमण टोलीमा राजदूतकी धर्मपत्नी Madam Grace, दूतावासकी द्वितीय सचिव तथा कन्सुल Ms. Lee Woo-Jin र आर्थिक अनुसन्धानकर्ता Mr. Prashant Mool सहभागी हुनुहुन्थ्यो।
भ्रमणका क्रममा महामहिम राजदूत Park Tae-young ले पोखरा विश्वविद्यालयका आंगिक महाविद्यालयअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै कोरियाको परिचय, नेपाल–कोरिया आपसी सम्बन्ध, आर्थिक तथा कूटनीतिक सम्बन्धका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो। उक्त प्रस्तुतीकरण विशेषगरी नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली विद्यार्थीहरूका लागि कोरियामा उपलब्ध उच्च शिक्षाका अवसरहरूमा केन्द्रित रहेको थियो।
प्रस्तुतीकरण पश्चात् राजदूतसहितको टोलीले पोखरा विश्वविद्यालय परिसरमा अवस्थित Inha University अन्तर्गतको कोरियाली Project Office को अवलोकन गरेको थियो ।
यसै क्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज के.सी., रजिष्ट्रार सह–प्रा.डा. अजय थापा, स्वास्थ्य विज्ञान संकायका डीन प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.डा. ज्ञानेश्वर शर्मा, विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा. बुद्धिराज जोशी तथा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक सह–प्रा. डा. दीपाञ्जल श्रेष्ठसँग भेटघाट तथा छलफल भएको थियो। छलफलमा विश्वविद्यालयको शैक्षिक सुदृढीकरण, पोखरा विश्वविद्यालयमा कोरियाली सहयोगका सम्भावना तथा पोखरा विश्वविद्यालय र दक्षिण कोरियाबीचको सम्बन्ध विस्तारका विषयमा विचार–विमर्श गरिएको थियो।
