२०८२ साल मंसिर २४ गते बुधबार, पोखरा ३०, कास्की ।
पोखरा विश्वविद्यालयले विश्व मानव अधिकार दिवसको अवसर पारेर उच्च शिक्षामा लैङ्गिक समानतालाई संस्थागत रूपमा मजबूत बनाउने उद्देश्यले सञ्चालन भइरहेको MAGENDA (Mainstreaming Gender Equality in Academia) परियोजना अन्तर्गत ‘Gender Equality Plan (GEP) 2025-2030’ विषयक विशेष अभिमुखीकरण तथा छलफल कार्यक्रम विश्वविद्यालय केन्द्रीय कार्यालयको सेमिनार हलमा सम्पन्न गरेको छ। कार्यक्रममा MAGENDA परियोजनाका अद्यावधिक गतिविधिहरू, नेपालमा रहेको लैङ्गिक समानताको वर्तमान अवस्था, मानव अधिकार र लैङ्गिक समानताको सम्बन्ध, तथा पोखरा विश्वविद्यालयले कार्यान्वयन गर्ने गरि तयार पारेको GEP 2025-2030 को प्रारम्भिक मसौदाबारे विस्तृत प्रस्तुति तथा छलफल गरिएको थियो।
युरोपियन कमिशनको Erasmus+ अन्तर्गत सन्चालित MAGENDA परियोजना १ नोभेम्बर २०२४ मा सुरु भई ३१ अक्टोबर २०२७ मा सम्पन्न हुने गरी ३६ महिनाका लागि चार देशका १० साझेदार संस्थाहरुमा सञ्चालन भइरहेको छ र यस परियोजनाको कुल बजेट युरो ७९९,५३६.५२ रहेको छ। पोखरा विश्वविद्यालय मुख्य संयोजक रहेको यो परियोजना नेपाल, बङ्गलादेश, बेल्जियम र ग्रीस गरी चार देशका आठ वटा विश्वविद्यालय तथा दुइ वटा बिकास साझेदार संस्था गरि १० बाट संस्थाहरूको साझेदारीमा सञ्चालित छ र यसको कार्यान्वयन तथा बजेट व्यवस्थापन Erasmus+ को नियम अनुसार साझेदार संस्थाहरूबीच तोकिए अनुसार बाँडफाँड गरेर गरिन्छ। नेपालबाट पोखरा विश्वविद्यालय सहीत काठमाडौँ विश्वविद्यालय र सुदुर पश्चिमान्चल विश्वविद्यालय यस परियोजनामा आबद्ध रहेका छन्।
कार्यक्रममा परियोजनाका संयोजक सह प्राध्यापक डा. नमराज धामीले MAGENDA परियोजनाको उद्धेश्य, वर्तमान प्रगति र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै परियोजनाले नेपाल, बङ्गलादेश र युरोपका विश्वविद्यालयहरूको सहकार्यमा २०२४ देखि २०२७ सम्मका तीन वर्षमा उच्च शिक्षामा लैङ्गिक समानताका लागि संरचनागत सुधार ल्याउने लक्ष्यसहित अघि बढिरहेको बताउनुभयो। उहाँले Gender Equality Plan निर्माण, प्रशिक्षण तथा संस्थागत क्षमता विकास परियोजनाका प्रमुख गतिविधि रहेको उल्लेख गर्नुभयो।
उप प्राध्यापक मन कुमारी पराजुलीले “Human Rights and Gender Equality – The Nexus” बिषयक प्रस्तुति दिदै मानवअधिकार र लैङ्गिक समानताबीचको सुदृढ सम्बन्धबारे प्रस्तुति दिँदै, कुनै पनि संस्था वा समाज मानव अधिकारमैत्री बन्न, लैङ्गिक समानता सुनिश्चित हुनु अनिवार्य भएको बताउनुभयो। उपप्राध्यापक डा. दीपमाला श्रेष्ठ गुरुङ ले “Status of Gender Equality in Nepal Academia” बिषयक प्रस्तुति दिदै नेपालको उच्च शिक्षामा लैङ्गिक अवस्थाबारे तथ्याधारित विश्लेषण प्रस्तुत गर्दै, शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएको भए पनि निर्णय तहमा सहभागिता अझै कमजोर रहेको, संरचनागत पक्षपात र सामाजिक धारणाले लैङ्गिक समानतामा चुनौती कायम रहेको उल्लेख गर्नुभयो।
सह प्राध्यापक डा. ऋषिकेश पाण्डेले Gender Equality Plan 2025–2030 को प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै पोखरा विश्वविद्यालयले लैङ्गिक समानतालाई संस्थागत रूप दिन पाँच प्रमुख क्षेत्र—नीति, शिक्षण, प्रशासनिक अभ्यास, क्षमता विकास, र सुरक्षात्मक प्रणालीमा रणनीति र कार्ययोजना आवश्यक रहेको र सोहि अनुरुप मस्यौदा प्रस्ताव गरेको बताउनुभयो। GEP सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको सहभागिता, जागरुकता, सक्रियता, र सुझाव महत्वपूर्ण हुने उहाँको भनाइ थियो। युएनडीपी नेपालका लैंगिक समानता (GESI) बिज्ञ बिपना धिमालले “Gender Equality Seal for Public Institutions” प्रस्तुतिमा सार्वजनिक संस्थाका लागि UNDP द्वारा विकसित Gender Equality Seal कार्यक्रमबारे जानकारी दिँदै यो प्रणाली संस्थाको लैङ्गिक संवेदनशीलता, पारदर्शिता, समावेशीता र उत्तरदायित्व मापन गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो र पोखरा विश्वविद्यालयमा Gender Equality Seal सम्बन्धि कार्यहरुमा आवश्यक सहजीकरण समेत गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै क्रममा विद्यार्थी, कर्मचारी, शिक्षक तथा विश्वविद्यालय पदाधिकारीहरू बाट उक्त कार्यक्रममा प्रस्तुत GEP मस्यौदा प्रति सुझाव तथा प्रतिक्रिया संकलनकालागी खुला सत्र (Open Discussion) समेत आयोजना गरिएको थियो। उक्त कार्यक्रमको सहजीकरण डा. मधु सुदन कायस्थ, तेजनारायण पराजुली सरला भट्ट तथा Student Ambassador हरुले गर्नुभएको थियो ।
बिषयगत प्रस्तुति र खुला सत्र छलफल पश्चात विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. बेदराज के.सी., रजिष्टार सह प्रा.डा. अजय थापा र मानविकी तथा सामाजिक शास्त्र संकायका डीन उप प्रा. डा. सुरेन्द्र तिवारीले सस्थागत प्रतिबद्धता सहित सम्बोधन गर्नु भयो।
उपकुलपति प्रा.डा. के.सी. ले मानव अधिकार र लैंगिक समानता लाई एउटै सिक्काका दुई पाटा भन्दै यी विषयको आपसमा निकट सम्बन्ध रहेको औल्याउनुभयो। उहाँले लैङ्गिक समानता नभएको समाज कहिल्यै अघि नबढ्ने र समग्र समाजको विकासका लागि लैंगिक समानता अत्यावश्यक भएको उल्लेख गर्नुभयो। उहाँले “लैंगिक समानता घरबाटै शुरु हुने (Gender Equality Starts from Home)” उल्लेख गर्दै हाल हाम्रो समाज यसमा धेरै सजग भएको बताउँदै बालिकाहरूको शिक्षा र अवसरमा विभेद धेरै हद सम्म घटिसकेको भए पनि अझै धेरै व्यावहारिक पक्षहरु सुधार्दै जानुपर्नेमा जोड दिनुभयो। साथै, उपकुलपतिले सस्थागत नेतृत्व (Leadership) देखि हरेक क्षेत्रमा लैंगिक समानताको सुनिश्चितता गर्ने प्रयास भइरहेको र सो का लागे MAGENDA परियोजनाले उत्कृष्ट भूमिका खेलिरहेको अवस्थामा विश्वविद्यालयले यो परियोजनाको सफल कार्यन्वयनका लागी सदैब समर्थन र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
रजिष्टार सह प्रा.डा. थापाले पोखरा विश्वविद्यालय मुख्य संयोजक रहेको MAGENDA परियोजना विश्वविद्यालयको महत्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना भएको र यसप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। यसलाई संस्थागत रूपमा विकास गर्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो। डा. थापाले विश्वविद्यालयमा झन्डै २० वर्षअघिदेखि स्नातकोत्तर तहमा लैङ्गिक विभेद न्यूनिकरण सम्बन्धि शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले विश्वविद्यालयभित्र नीति निर्माणदेखि बजेट तयारीसम्म लैंगिक समानता समेटेर कार्य सम्पादन हुनु पर्ने र यसलाई संस्थागत गर्नका लागी विश्वविद्यालय सजग र प्रतिबद्ध रहेको बताउनुभयो। साथै, संख्यात्मक सुधार, क्षमता निर्माण, र समानताका लागी सदैब समर्थन, समन्वय, र सहजीकरण कार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
डीन उप प्रा. डा. सुरेन्द्र तिवारीले पोखरा विश्वविद्यालयभित्र प्रशासन सेवामा लैङ्गिक सन्तुलन राम्रो रूपमा रहेको उल्लेख गर्दै विश्वविद्यालयले लामो समय देखि लैङ्गिक अध्ययन तथा सम्बन्धित विषयमा पठन–पाठन गर्दै आएको र यसले विश्वविद्यालयको समग्र लैङ्गिक संवेदनशीलता प्रवर्द्धन गर्न योगदान पुर्याइरहेको धारणा व्यक्त गर्नुभयो। साथै विश्वविद्यालयमा लैंगिक समानताको प्रबर्धनका लागी आफ्नो पूर्ण सक्रियता रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।
विज्ञान तथा प्रविधि संकाय डीन सह प्राध्यापक बुद्धि राज जोशीले धन्यवाद ज्ञापन गर्दै पोखरा विश्वविद्यालयमा महिला सहभागीता खास गरि शिक्षण सेवा र नेतृत्वतहमा अपेक्षाकृत कम रहेको महसुस भएकाले लैङ्गिक सन्तुलन (gender balance) कायम गर्न विश्वविद्यालयले विभिन्न पहलहरू अघि बढाइरहेको बताउनुभयो। उहाँले MAGENDA परियोजनाले यस दिशामा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै विश्वविद्यालयका पदाधिकारी, प्रस्तुतिकर्ता लगायत समस्त सहभागीहरु प्रति आभार व्यक्त गर्नुभयो।
विद्यार्थी, कर्मचारी, शिक्षक, विश्वविद्यालयका पदाधिकारीहरू, तथा स्थानीय समुदायका प्रतिनिधि सहीत १३० भन्दा बढीको सहभागितामा भएको उक्त कार्यक्रमको संचालन उप प्राध्यापक डा. पार्वती थापाले गर्नु भएको थियो। कार्यक्रम आयोजनामा MAGENDA Student Ambassadors हरुको उल्लेख्य सक्रियता रहेको थियो। अन्तमा परियोजनाका संयोजक सह प्राध्यापक डा. नमराज धामीले विद्यार्थी, कर्मचारी, शिक्षक, विश्वविद्यालयका पदाधिकारीहरू लगायत उपस्थित समस्त सहभागीहरु, प्रस्तोताहरु, तथा MAGENDA परियोजनाका सहकर्मीहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भयो।
