ललितपुरमा पोखरा विश्वविद्यालयको आंगिक क्याम्पस सञ्चालन

01/09/2025

 

२०८२ भदौ १६ गते सोमबार, पोखरा–३०, कास्की ।

२८ वर्षको अन्तरालपछि पोखरा विश्वविद्यालयले काठमाडौं उपत्यकामा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिका–९, च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई विश्वविद्यालयले आंगिक क्याम्पसमा रूपान्तरण गरी सञ्चालन गर्न लागेको हो । यसअघि पोखरा उपत्यकाबाहिर आंगिक महाविद्यालय विस्तार गर्ने प्रयास भए पनि सफल हुन नसकेकोमा हालै बसेको विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । यो निर्णय श्रमिक शान्ति क्याम्पस सञ्चालक समितिको बैठक, क्याम्पस सभाको बैठक तथा पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयका आधारमा गरिएको हो । सोही निर्णयअनुसार २०८२ साउन २७ गते भएको समझदारी पत्रमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी. र रजिष्ट्रार सह–प्रा.डा. अजय थापा तथा श्रमिक शान्ति क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार र क्याम्पस प्रमुख रोशन मैनालीले हस्ताक्षर गर्नुभएको थियो । यस्तै त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन लिई कार्यक्रम सञ्चालन गर्दै आएको सामुदायीक क्याम्पस श्रमिक शान्ति क्याम्पसलाई पोखरा विश्वविद्यालयको आंगिक क्याम्पसमा सञ्चालन गर्ने सम्बन्धमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी. र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो । यससँगै वि.सं. २०६४ मा स्थापना भएको श्रमिक शान्ति क्याम्पस औपचारिक रूपमा पोखरा विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पसका रूपमा रूपान्तरण भई नयाँ कार्यक्रम सञ्चालन गर्न बाटो खुलेको छ ।

यसै शैक्षिक सत्रदेखि श्रमिक शान्ति क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ Bachelor of Arts Bachelor of Laws (BALLB) कार्यक्रम ४० विद्यार्थी क्षमतासहित, व्यवस्थापन संकायतर्फ Bachelor of Computer System and Information Technology (BCSIT) कार्यक्रम ४८ विद्यार्थी क्षमतासहित र विज्ञान तथा प्रविधि संकायतर्फ Bachelor of Artificial Intelligence and Data Science (BAIDS) कार्यक्रम ४८ विद्यार्थी क्षमतासहित सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया समेत अगाडि बढाइएको छ । यिनमध्ये BALLB र BCSIT कार्यक्रम विश्वविद्यालयमा पहिलेबाट सञ्चालनमा रहेकामा BAIDS भने नयाँ कार्यक्रम हो ।

यससँगै पोखरा विश्वविद्यालयअन्तर्गत आंगिक महाविद्यालयहरूको संख्या पाँच पुगेको छ । यसअघि वि.सं. २०५६ मा स्कूल अफ बिजनेस, २०५७ मा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, २०६० मा स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ र २०६६ मा स्कूल अफ इन्जिनियरिङ आंगिक क्याम्पसका रूपमा स्थापना भएका थिए । हाल यी चार आंगिक स्कूलमा ४२ कार्यक्रम सञ्चालनमा छन् र ३४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

सहमति अनुसार श्रमिक शान्ति क्याम्पसमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धनमा सञ्चालन भइरहेका BBS र MBS कार्यक्रममा नयाँ भर्ना अब रोकिएको छ । तर, हाल भर्ना भइसकेका विद्यार्थीले आफ्नो शैक्षिक अवधि पूरा नभएसम्म सोही कार्यक्रममा  निरन्तरता पाउनेछन् ।

 

Next Articles