“सामाजिक-आर्थिक असमानता न्यूनीकरणका लागि प्रविधिको प्रयोग” विषयक कार्यशाला सम्पन्न

31/07/2025

२०८२ साउन १५ गते बिहीबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) को आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहयोगमा “Smart Solutions, Local Impact: Technology for Reducing Socio-Economic Inequality” शीर्षकमा कार्यशाला आज पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा सम्पन्न भएको छ।

कार्यशालाको उद्घाटन सत्रमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह-प्रा. डा. नमराज धामीले पोखरा विश्वविद्यालय र UNDP नेपालका बीच बिगत चार बर्ष देखिको सहकार्य अत्यन्तै सफल रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरु लाइ स्वागत र कार्यशालाको कार्यक्रमका बारेमा प्रकाश पार्नु भयो। त्यस्तै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालका Deputy Resident Representative Julien Chevillard ले सामाजिक-आर्थिक असमानता न्यूनीकरणमा डिजिटल प्रविधिको भूमिका र स्थानीय सरकारहरूलाई प्रविधिमैत्री बनाएर समावेशी, तथ्यमा आधारित निर्णय प्रक्रियाको आवश्यकता जोड दिनुभयो।

प्राविधिक सत्र अन्तर्गत UNDP नेपालका प्रतिनिधि सतिश पाण्डेले “Harnessing Digital Tools for Addressing Socio-Economic Vulnerability and for Social Equity” विषयमा आफ्नो प्रस्तुति दिनुभयो। उहाँले डिजिटल प्रविधिहरूको उपयोगमार्फत सामाजिक–आर्थिक रूपमा कमजोर वर्गको पहिचान, सेवा लक्षित गर्ने तरिका, र सामाजिक न्याय (social equity) प्रवर्द्धनका उपायहरूबारे प्रकाश पार्नुभयो। विशेषतः तथ्यांक (data) व्यवस्थापन, सूचना प्रणाली र प्रविधिमा आधारित निर्णय प्रक्रियाले सार्वजनिक सेवा पहुँचमा समावेशीता र समानताको सिद्धान्तलाई मजबुत बनाउने कुरामा उहाँले जोड दिनुभयो। बेनी नगरपालिकाका प्रमुख सुरत के.सी. र प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बेनी नगरपालिकाले SEVIMS (Socio-Economic Vulnerability Index Mapping System) प्रणाली प्रयोग गरेर सामाजिक–आर्थिक रूपमा कमजोर (vulnerable) जनसंख्याको पहिचानलाई प्राथमिकता दिएको व्यावहारिक केस स्टडी प्रस्तुत गर्नुभयो। सो अवसरमा उहाँहरुले उक्त प्रणालीले योजना निर्माणमा तथ्यमा आधारित सोचलाई संस्थागत गर्दै, डेटा‑आधारित योजनाबद्धतामार्फत सेवा वितरणलाई प्रभावकारी मात्र होइन, लक्षित पनि बनाएको, साथै स्थानीय सरकारको निर्णय प्रक्रियालाई थप पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाएको प्रमाणहरु प्रस्तुत गर्नुभएको थियो । पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका सह–प्राध्यापक डा. ऋषिकेश पाण्डे र उप–प्राध्यापक डा. अर्जुन कुमार थापाले “Setting up Indicators, Scoring, and Composite Index to Calculate Socio-Economic Vulnerability” विषयमा प्रस्तुति दिनुभयो। सो अवसरमा उहाँहरूले सामाजिक–आर्थिक जोखिम (vulnerability) मापनका लागि आवश्यक सूचकहरू (indicators) को पहिचान, तिनको स्कोरिङ (scoring) विधि तथा समग्र सूचकांक (composite index) निर्माण प्रक्रिया प्रस्तुत गर्नुभयो। यस किसिमको तथ्यमा आधारित सूचकांकले नीति निर्माण र योजना तर्जुमा गर्दा जोखिममा रहेका जनसमूहलाई लक्षित गर्न मद्दत पुर्‍याउने कुरा उहाँहरूको प्रस्तुतीकरणको मूल सार रहेको थियो ।

कार्यशालाको विशेष सत्रमा “Integrating Local Knowledge with Smart Solutions” विषयमा स्थानीय सन्दर्भमा विद्यमान ज्ञान, अनुभव र प्रविधिको समायोजन कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्श गरियो। छलफलमा स्थानीय तहमा कार्यान्वयन हुने प्रविधिमूलक उपायहरू, नागरिक सहभागिता र उत्तरदायित्व सुनिश्चित गर्ने विषयमा बहस भएको थियो। प्यानल छलफलमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य दुर्गा लामिछाने, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ध्रुव गिरी, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने पौडेल, र  Provincial and Local Governance Support Programme (PLGSP) का सूचना प्रविधि तथा ई-गभर्नेन्स विश्लेषक नागेश बडु प्यानलिस्टका रूपमा सहभागी हुनुहुन्थ्यो। प्यानल छलफलको सञ्चालन पोखरा विश्वविद्यालय, एभरेष्ट इन्जिनियरिङ कलेजका एसोसिएट प्रोफेसर इन्जिनियर विरोध रिजालले गर्नुभएको थियो।

समापन सत्रमा राष्ट्रिय बाणिज्य बैंकका डेप्युटी मेनेजर लुज: श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका उपप्रमुख दिवा कुमारी तिलिजा पून, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ध्रुव गिरि, तथा गण्डकी प्रदेश नीति तथा योजना आयोग गण्डकीका माननीय सदस्य डा. योगेंद्र राज रिजालले समापन मन्तव्य राख्दै डिजिटल प्रविधिको समय सापेक्ष उपयोग गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी र विश्वसनीय बनाउन आवश्यक रहेको र सो का लागि सम्पूर्ण सरोकारवालाहरुले सहकार्य गर्दै आगाडी बढ्नु पर्नेमा बिशेष जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयका सहप्रशासक तेज नारायण पराजुलीले बिभिन्न गण्डकी प्रदेशका बिभिन्न मन्त्रालय, गण्डकी प्रदेश नीति तथा योजना आयोग, स्याङ्जा, पर्वत, म्याग्दी, र बाग्लुङका बिभिन्न नगरपालिका र गाउँ पालिका, UNDP नेपाल, राष्ट्रिय बाणिज्य बैंक, पोखरा विश्वविद्यालय लगायत २४ वटा संस्थाहरुबाट सहभागी हुनुभएका छयासीजना प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहाकार्यको निरन्तरताको अपेक्षा रहेको बिचार व्यक्त गर्नुभयो ।

कार्यशालाको समापन गर्दै पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह-प्रा. डा. नमराज धामीले विश्वविद्यालय, सरकारी निकाय, र बिकास साझेदार संस्थाहरु बीचको त्रिपक्षीय सहकार्यबाट मात्रै दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्दै पोखरा विश्वविद्यालय प्रदेश सरकार, स्थानीय सरकार, संघीय सरकार, र यूएनडिपी लगायातका निकायहरुसित दीर्घकालीन सहकार्य गर्दै अगाडि बढ्न इच्छुक रहेको र सो अनुरुप नीति, योजना, र कार्यक्रमहरु निर्माण गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

Next Articles