पोखरा विश्वविद्यालय २९ औं वर्षमा प्रवेश, दीर्घसेवा पदक सम्मानसहित वृक्षारोपण कार्यक्रम सम्पन्न

17/07/2025

२०८२ श्रावण १ गते बिहीबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय आजबाट २९ औं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०५४ साल श्रावण १ गते पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार स्थापना भएको यस विश्वविद्यालयले २९ औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालय परिसरमा वृक्षारोपण तथा दीर्घसेवा पदक सम्मान कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रमको उद्घाटन उपकुलपति प्रा.डा. वेदराज के.सी. ले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभयो। समारोहमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीहरूलाई दीर्घ सेवा पदक, सम्मानपत्र र दोसल्लाले सम्मान गरियो।

सम्मानित व्यक्तित्वहरूमा रजिष्टार सह–प्रा.डा. अजय थापा, सह–प्रशासक गोबर्धन भट्टराई, उप–प्रशासक सीता देवी ढकाल, मुख्य सहायकहरू बिमल कार्की र पुरूषोत्तम रानाभाट, सवारी चालक झगबहादुर कमर तथा कार्यालय सहयोगीहरू दुर्गा रेग्मी र जोगीराम नेपाली हुनुहुन्छ।

कार्यक्रममा उपकुलपति प्रा.डा. के.सी. ले विश्वविद्यालय उच्च शिक्षाको एक महत्वपूर्ण संस्थाको रूपमा स्थापित भइसकेको बताउँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसलाई चिनाइराख्न आवश्यक नरहेको धारणा व्यक्त गर्नुभयो। उहाँले विश्वविद्यालयको हालको उचाइमा पुग्न योगदान दिने पूर्वपदाधिकारी, समाजसेवी, शिक्षासेवीहरूप्रति आभार प्रकट गर्दै, २५ औं विश्वविद्यालय सभामार्फत अघि सारिएका नीति तथा कार्यक्रमहरू अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. तीर्थराज अर्यालले आयोगले विश्वविद्यालयको मार्गनिर्देशनअनुसार कार्य गर्दै आएको उल्लेख गर्दै, आगामी दिनमा पनि लक्ष्य र योजनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, रजिष्टार सह–प्रा.डा. अजय थापाले पोखरा विश्वविद्यालयसँगै आफू हुर्किएको अनुभव साझा गर्दै २५ वर्ष निरन्तर सेवामा रहन पाउँदा गर्व महसुस भएको बताउनुभयो । सुरुमा स्नातकोत्तर  तहमा १२–१५ जना र स्नातक तहमा २८ जना विद्यार्थी तथा ८–१० जना कर्मचारीबाट सुरु भएको विश्वविद्यालय हाल ६५ वटा कलेजमार्फत ३५ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिरहेको उल्लेख गर्दै उहाँले यस सफलताको श्रेय सम्पूर्ण संस्थापक, पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई जान्छ भन्ने धारणा राख्नुभयो ।

पूर्व रजिष्टार प्रा.डा. दीपकबहादुर भण्डारीले आफ्नो कार्यकालमा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय योगदान रहेको स्मरण गर्दै, अबको प्राथमिकता कलेज विस्तार गरी देशका विभिन्न भागमा उच्च शिक्षाको पहुँच पुर्‍याउनु पर्नेमा जोड दिनुभयो।

व्यवस्थापन संकायका डीन सह–प्रा.डा. दयाराज ढकालले “पोखरा विश्वविद्यालयप्रति अगाध अगाध प्रेम गर्छु” भन्दै विश्वविद्यालयप्रतिको गहिरो लगाव प्रकट गर्नुभयो।

प्राध्यापक संघका सभापति सह–प्रा.डा. निरञ्जन श्रेष्ठले पूर्वपदाधिकारीहरूको सामाजिक योगदानको कदर गर्दै, सेवा आयोगको वार्षिक कार्यतालिका तयार पारी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

स्कूल अफ बिजनेसका निर्देशक सह–प्रा.डा. श्रृजन ज्ञवालीले विश्वविद्यालयको जन्मदिन खुशीको मुडमा मनाइँदै गरेको बताउँदै, कसैको शारीरिक त कसैको बौद्धिक योगदानको सदुपयोग गर्दै विश्वविद्यालयप्रति गर्व महसुस हुने वातावरण निर्माण गर्न सबै सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. पूर्णबहादुर खाँडले विश्वविद्यालयको गुणस्तर उच्च रहेको र यसको प्रभावकारी उपस्थिति देशभर फैलिएको उल्लेख गर्नुभयो।

कर्मचारी संघकी कार्यवाहक अध्यक्ष बन्दना गोदार थापाले कर्मचारीको वृति विकास, सरुवा, बढुवा र पदोन्नति प्रक्रियामा स्पष्टता ल्याउनुपर्ने तथा विश्वविद्यालयले तालिम र अनुसन्धानमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

दीर्घ सेवा पदकबाट सम्मानित कर्मचारी पुरूषोत्तम रानाभाटले शिक्षाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने र विश्वविद्यालयलाई अगाडि बढाउन कर्मचारीहरूलाई जिम्मेवारीसाथ संलग्न गरिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य सह–प्रशासक तेजनारायण पराजुलीले राख्नुभयो। उहाँले विश्वविद्यालयको वर्तमान उचाइमा ल्याउन अग्रजहरूको योगदान अतुलनीय रहेको भन्दै संस्थाको साख अझ उचो बनाउने जिम्मेवारी सबैको भएको बताउनुभयो। कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो।

Next Articles