वैज्ञानिक लेखन तथा प्रकाशन आचारसंहितासम्बन्धी दुई दिने तालिम सम्पन्न

14/07/2025


२०८२ असार २८ गते आइतबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायद्वारा आयोजित “Scientific Writing and Publication Ethics” शीर्षकको दुई दिने फ्याकल्टी डेभलपमेन्ट तालिम आज मट्टीखान माउन्ट भ्यू रिसोर्ट पोखरा, कास्कीमा सम्पन्न भएको छ।

उक्त तालिमको उद्घाटन स्वास्थ्य विज्ञान संकायका डीन प्रा. डा. विष्णु राज तिवारीले गर्नु भयको थियो। उद्घाटन सत्रमा उहाँले प्राध्यापनलाई प्रभावकारी बनाउँन अनुसन्धानमूलक ज्ञानको आवश्यकता औंल्याउँदै वैज्ञानिक लेखन र प्रकाशन आचारसंहिता सम्बन्धी तालिमले अध्ययन–अध्यापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता तालिमहरूले पठनपाठन र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका सभासद तथा संकायका संस्थापक डीन सह–प्रा. डा. खेमराज जोशीले फ्याकल्टी डेभलपमेन्ट तालिमले शिक्षकमाझ आवश्यक सीप अभिवृद्धि गर्दै अध्ययन–अध्यापनलाई सहज बनाउने बताउनुभयो। साथै, उहाँले प्राध्यापकहरू केवल कक्षाकोठामा मात्र नभई समाजकै लागि प्रेरणाको स्रोत बन्नुपर्ने धारणा राख्नुभयो।

स्वास्थ्य विज्ञान संकायका निवर्तमान डीन सह–प्रा. डा. अमर नागिलाले शिक्षण पेशामा गरिमा र सम्मानसँगै चुनौती पनि रहेको उल्लेख गर्नुभयो। प्राध्यापकको भूमिका केवल प्राध्यापनमा मात्र नभई अनुसन्धानमा पनि केन्द्रित हुनुपर्ने र उक्त अनुसन्धानलाई शिक्षण सिकाइमा जोड्नु पर्ने बताउनुभएको थियो । साथै, आफैंले सुरु गरेको यो कार्यक्रमलाई निरन्तरता दिनुभयकोमा वर्तमान डीनलाई धन्यवाद दिनुभयो।

तालिममा पोखरा विश्वविद्यालयका अंगिक तथा सम्बन्धन प्राप्त विभिन्न संस्थाहरू — स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेज पोखरा, पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, नोबेल कलेज काठमाडौं, क्रिमसन कलेज अफ टेक्नोलोजी बुटवल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल नर्सिङ कलेज भरतपुर, तथा हिमालय आई इन्स्टिच्युट पोखरा बाट फ्याकल्टी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन उप–प्राध्यापक निमबहादुर डाँगीले गर्नु भएको थियो भने उद्घाटन सत्रको सहजीकरण उप–प्राध्यापक विजय सुबेदीले गर्नुभएको थियो। उक्त तालिममा सह–प्रा. डा. डमरु प्रसाद पनेरु, सह–प्रा. डा. नमराज धामी, सह–प्रा. डा. दिपेन्द्र कुमार यादव, सह–प्रा. डा. खेमराज जोशी, डा. पार्वती थापा, डा. राजकुमार थापा तथा चिरन्जीवी अधिकारीले विभिन्न विधामा प्रस्तुति दिनुभएको थियो।

Next Articles