छात्रावास

पोखरा विश्वविद्यालयद्वारा सञ्चालन भएको आंगिक कार्यक्रममा भर्ना भई नियमित अध्ययन गर्ने छात्राहरूका लागि विश्वविद्यालयले आवास सुविधा उपलब्ध गराउँदै आएको छ। छात्रावासमा बस्ने विद्यार्थीहरूले कोठा, विजुली, पानी, इन्टरनेट आदि सुविधा उपभोग गरेबापत विश्वविद्यालयले तोकेको शुल्क तिर्नुपर्नेछ।

छात्रावासमा बस्ने विद्यार्थी छनोटको आधार तथा वितरण प्रक्रिया निम्नानुसार रहेको छः

१. छात्रावासमा भारतीय सरकारी सेवाबाट निवृत्त भएका अभिभावकका सन्तानहरूको लागि कूल क्षमताको १० प्रतिशत, विद्यार्थी आदान प्रदान कार्यक्रम अन्तर्गत विदेशबाट पोखरा विश्वविद्यालयमा भर्ना भई अध्ययन गर्ने ४ जना विद्यार्थी, पोखरा विश्वविद्यालयमा स्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारीका सन्तानहरू मध्येबाट १+१ गरी जम्मा २ जना विद्यार्थीहरूको लागि सिट सुरक्षित रहनेछ। यसरी आरक्षित कोटामा तोकिएको संख्या भन्दा बढी आवेदन परेमा सोही समूहका बीच प्रतिस्पर्धा गराई छनोट गरिनेछ। भारतीय सरकारी सेवाबाट निवृत्त भएका अभिभावकका सन्तानहरूको आरक्षित कोटामा भारतीय दूतावासको सिफारिस र विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका सन्तानका लागि आरक्षित कोटामा आवेदक पोखरा विश्वविद्यालयमा स्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारीको सन्तान हो भनी स्पष्ट खुलाइएको पोखरा विश्वविद्यालयको सिफारिसको आधारमा वितरण गरिनेछ।

२. छात्रावासमा उपलब्ध सिटको वितरण देहायको आधारमा गरिनेछः

क) छात्रावासमा बस्नको लागि विश्वविद्यालयका कुनै आंगिक कार्यक्रम अन्तर्गत भर्नाको प्रक्रियामा प्राप्त प्रवेश परीक्षाको स्कोर, स्थायी वसोवासको जिल्लाको अंक, र सार्वजनिक विद्यालयबाट एसएलसी उत्तीर्णको अंक जोडि कुल प्राप्त अंकको आधारमा सूची प्रकाशन गरी वितरण गरिनेछ। स्थायी वसोवासका सन्दर्भमा आवेदकले निजको स्थायी वसोवास कुन जिल्लामा हो सो स्पष्ट खुलेको सम्बन्धित गाउँ विकास समिति कार्यालय तथा नगरपालिका वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ।

३. मूल्यांकनको अंक तपशिल बमोजिम कायम गरिएको छः

क) नेपाल सरकारले तोकेको दुर्गम जिल्लाहरूका लागि अंक ४०
ख) माथि उल्लेखित दुर्गम जिल्ला बाहेकका सुगम जिल्ला (कास्की जिल्ला र त्यससँग सिमाना जोडिएका जिल्लाहरू बाहेक) का लागि अंक ३०
ग) कास्की जिल्लासँग सिमाना जोडिएका जिल्लाहरू (लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, मनाङ) का लागि अंक २०
घ) कास्की जिल्ला अन्तर्गतका नगरपालिका तथा उपमहानगरपालिका बाहेकका गाउँ विकास समितिका लागि अंक १०

४. सार्वजनिक विद्यालयबाट एसएलसी उत्तीर्ण विद्यार्थीका लागि अंक ५
५. एक पटक छात्रावासको सुविधा प्राप्त गरेको विद्यार्थीलाई पुनः सोही तहको अर्को कार्यक्रममा छात्रावासको सुविधा उपलब्ध हुनेछैन।