२०८१ फागुन ९ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय इनक्युबेसन केन्द्रको औपचारिक उद्घाटन विज्ञान तथा प्रविधि संकायको आयोजनामा सम्पन्न भयो, जसमा ७० जना विद्यार्थीहरूको सहभागिता रह्यो। कार्यक्रमको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि संकायका डीन प्रा. राजेश कुमार ठगुराठीले इनक्युबेसन केन्द्रले विद्यार्थीहरूलाई उद्यमशीलता र नवप्रवर्तनको बाटोमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वक्ताहरू अशोक खड्का, आशिष अर्याल, र समीर केसीले क्रमशः उद्यमशील सोच, आइडियासन तथा डिजाइन थिङ्किङ, र स्टार्टअपका लागि वित्तीय योजना सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभयो। पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका स्कूल निर्देशक डा. अनन्तराज ढुंगानाले इनक्युबेसन कार्यक्रमहरूको आवश्यकता र उपयोगिताबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई आफ्नो व्यावसायिक विचार अघि बढाउन आग्रह गर्नुभयो। डा. दीपाञ्जल श्रेष्ठले इनक्युबेसन प्रक्रिया र प्रयोगशाला सुविधाहरूको विस्तृत जानकारी दिँदै विश्वविद्यालयले विद्यार्थी उद्यमीहरूलाई कसरी सहयोग गर्छ भन्ने विषयमा जानकारी गराउनुभयो।
सहभागी विद्यार्थीहरूले स्टार्टअप तालिम र कार्यशालामार्फत नवप्रवर्तनशील सोच र व्यापार रणनीतिबारे प्रत्यक्ष अनुभव प्राप्त गरे। कार्यक्रमको शुभारम्भ उप-प्राध्यापक जीवन भण्डारीको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन डा. शान्ति देवी क्षेत्री र विश्वास आचार्यले गर्नुभएको थियो।