२०८१ फागुन २७ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयमा प्राकृतिक संसाधन संरक्षणलाई पूर्वाधार विकासमा एकीकृत गर्ने उद्देश्यले एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको अग्रसरतामा विश्वविद्यालयका पदाधिकारी, विज्ञ तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको सहभागितामा सम्पन्न यस बैठकमा प्राकृतिक संसाधन संरक्षणलाई प्रभावकारी रूपमा पाठ्यक्रममा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
बैठकमा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्राध्यापक राजेश कुमार ठगुराठीले पोखरा विश्वविद्यालयको परिचय दिँदै यस क्षेत्रमा विश्वविद्यालयले गरेका प्रयासहरू बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रा.डा. टेकराज ज्ञवालीले पाठ्यक्रम सुधार, नीति निर्माण तथा कार्यान्वयनका उपायहरूबारे महत्वपूर्ण सुझाव प्रस्तुत गर्दै प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका निर्देशक डा. ओमप्रकाश गिरिले स्वागत मन्तव्य राख्दै प्राकृतिक स्रोत संरक्षणको आवश्यकता र यसको पाठ्यक्रमको महत्वबारे प्रकाश पार्नुभयो । डब्ल्यूडब्ल्यूएफ नेपालका वरिष्ठ सल्लाहकार डा. शान्त राज ज्ञवालीले बैठकको उद्देश्यबारे स्पष्ट पार्दै वातावरणीय सन्तुलनका लागि पूर्वाधार योजनामा जैविक विविधताको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनु भयो । बैठकमा डब्ल्यूडब्ल्यूएफ नेपालका नीति प्रमुख एकराज सिग्देलले दीर्घकालीन विकासका लागि पर्यावरणीय पक्षलाई मध्यनजर गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, दीगो पूर्वाधार विज्ञ शोभा के.सी.ले हालै लिइएका पूर्वाधार योजनाहरूको वातावरणीय प्रभावका सन्दर्भमा विचार प्रस्तुत गर्दै इञ्जिनियरिङ विधामा विकास भइरहेको प्राकृतिक संसाधन संरक्षणसम्बन्धी पाठ्यक्रमको प्रारूप प्रस्तुत गर्नुभयो ।
यस बैठकमा प्रस्तुत गरिएको Integrating the Course on Natural Resource Safeguarding in Infrastructure Development विषयक पाठ्यक्रमले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै हरित पूर्वाधार निर्माणका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने लक्ष्य राखेको छ । यो पाठ्यक्रम विशेष गरी वन्यजन्तु–अनुकूल यातायात, विद्युत् प्रसारण लाइन, तथा सिंचाइ प्रणाली विकास गर्ने क्षमताको अभिवृद्धि गर्न केन्द्रित छ । यसमा प्राकृतिक स्रोत संरक्षणको आवश्यकता, जैविक विविधता क्षेत्रहरू (संरक्षित क्षेत्र, वन्यजन्तु करिडोर, संक्रमण स्थल) तथा पूर्वाधारले जैविक विविधतामा पार्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरू समेटिएका छन् । साथै यसमा विद्यार्थीहरूले जैविक विविधता मूल्याङ्कनका विधिहरू, न्यूनीकरणका सिद्धान्त तथा उपायहरू, नेपाल र अन्तर्राष्ट्रिय नीति, साथै वन्यजन्तु संरक्षणका संरचनाहरू (जस्तैः ओभरपास, अन्डरपास, क्यानोपी ब्रिज) को अध्ययन गर्नेछन् । पाठ्यक्रमबाट व्यावहारिक रूपमा, विद्यार्थीहरूले क्षेत्र भ्रमण, संरचना डिजाइन अभ्यास तथा पूर्वाधारले जैविक विविधतामा पार्ने प्रभावको अध्ययन गर्ने अवसर पाउनेछन् । कार्यक्रमको सञ्चालन प्रा.डा. विनय कुमार मिश्रले गर्नुभएको थियो ।