स्वास्थ्य विज्ञान सङ्कायमा पिएचडि कार्यक्रम शुरू

स्वास्थ्य विज्ञान सङ्कायमा पिएचडि कार्यक्रम शुरू

 

 

२०८१ साल भदौ ३० गते शनिबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयअन्तर्गत स्वास्थ्य विज्ञान सङ्कायमा पीएचडी कार्यक्रमको ओरियेन्टेशन कार्यक्रम भदौ २९, २०८१ मा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विद्यावारिधि अध्ययन अब सजिलो भएको र इन्टरनेटको माध्यमबाट अध्ययन सामग्री विश्वभरबाट सहजै उपलब्ध हुन थालेको बताउनुभयो। उहाँले विद्यार्थीलाई मिहिनेत, दृढता, र राष्ट्रको लागि योगदान गर्ने मानसिकता आवश्यक रहेको बताउनुभयो। साथै, उहाँले अन्य विश्वविद्यालयहरूसँग एमओयू गरेर अनुसन्धान प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

रजिष्ट्रार प्रा.डा. दीपक बहादुर भण्डारीले पीएचडीले ज्ञानको ढोका खोल्ने बताउनुभयो। उहाँले पीएचडी अध्ययनलाई जीवनको महत्त्वपूर्ण मोडको रुपमा लिएर सोच परिवर्तन गर्न आग्रह गर्नुभयो। विश्वविद्यालयले अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा योगदान दिनुपर्ने उहाँको भनाइ थियो। मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह-प्राध्यापक डा. अजय थापाले पिएचडी अध्ययनलाई सगरमाथा आरोहणसँग तुलना गर्दै यो एक कठिन यात्रा भए पनि यसले विद्यार्थीलाई नयाँ उचाईमा पुर्‍याउने बताउनुभयो। उहाँले अनुसन्धानमा अनुभव र सही ज्ञानको महत्त्वको बारेमा प्रकाश पार्नुभयो।

स्वास्थ्य विज्ञान सङ्कायका डीन सह-प्राध्यापक डा. अमर नागिलाले विश्वविद्यालयमा अनुसन्धान र सेवाको महत्त्वबारे चर्चा गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अनुसन्धानको वातावरण बनाउन र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने बताउनुभयो। परीक्षा नियन्त्रक सह-प्राध्यापक डा. तुल्सी राम भण्डारीले विद्यार्थीलाई पीएचडीपछि सफल बनाउने विश्वविद्यालयको दायित्वबारे चर्चा गर्दै, विद्यार्थीले ब्रान्ड बनेर निस्कनुपर्नेमा जोड दिनुभयो।

स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजकी प्रा.डा. निर्मला जम्मरकट्टेलले पीएचडी कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो। उहाँले अनुसन्धान र प्रकाशनको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड गर्नुभयो। सह-प्राध्यापक डा. गुलाम खाँले विद्यार्थीलाई अनुशासनको महत्त्व बुझाउनुपर्ने बताउनुभयो भने सह-प्राध्यापक डा. हरिप्रसाद काफ्लेले पीएचडी कार्यक्रमको भिजन र सञ्चालन प्रक्रियाबारे जानकारी दिनुभयो।

पोखरा विश्वविद्यालय रेडियो इमेजिङ विषय समितिका अध्यक्ष प्रा.डा. ईश्वरी प्रसाद पौडेलले पीएचडीको लागि आवश्यक फाउण्डेशन कोर्षको महत्त्व बताउँदै सही अनुसन्धानका लागि टाइटल र क्षेत्रको चयन महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

पीएचडी क्यान्डिडेट एवम् उप-प्राध्यापक अतिस सम्बोधनबर्दन कौडिन्नायनले आफ्नो अनुभव साट्दै, विश्वविद्यालयका उच्च क्षमतायुक्त प्राध्यापकहरूको सहयोगबाट उत्कृष्ट अनुसन्धान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। अर्की पीएचडी क्यान्डिडेट सिर्जना पण्डित पहारीले आफ्नै देशमा शिक्षा हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्दै उत्कृष्ट उत्पादनका रूपमा विश्वविद्यालयलाई चिनाउन सकिने बताउनु भयो।

कार्यक्रममा ६ जना पीएचडी क्यान्डिडेट सहभागी थिए, जसले ३ देखि ५ वर्षसम्मको अवधिमा ६ सेमेस्टर पूरा गर्नुपर्नेछ। कक्षाहरू १५ सेप्टेम्बर २०२४ देखि शुरु हुनेछन्। कार्यक्रमको सञ्चालन सह-प्राध्यापक डा. डमरु प्रसाद पनेरुले गर्नुभएको थियो ।