सङ्कायमा मेरो कुनै हस्तक्षेप रहँदैनः उपकुलपति

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्र प्रसाद भट्टराईले एकाडेमिक रूपमा सङ्कायको डीन पद अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त पदमा आसिन हुने जो कोहिको पनि सङ्कायको स्तरवृद्धिका लागि महत्वपूर्ण जिम्मेवारी र दायित्व रहने भएकोले त्यसमा आफ्नो कुनै हस्तक्षेप नरहने उल्लेख गर्नु भएको छ । उहाँले उक्त विचार पोखरा विश्वविद्यालयको व्यवस्थापन सङ्कायको डीन पदमा हालै नियुक्त हुनु भएका डा. कर्णवीर पौड्याललाई विश्वविद्यालय प्राङ्गणमा आज (२०६९ चैत्र २८ गते बुधबार) एक समारोहबीच स्वागत एवम् बधाई दिँदै बताउनु भएको हो । उपकुलपति भट्टराईले विश्वविद्यालयको सङ्कायलाई कसरी परिचालन गर्ने, कार्यक्रमलाई कसरी विस्तार गर्ने, गुणस्तरमा कसरी अभिवृद्धि गर्ने, समाजको मागलाई कसरी परिपूर्ति गर्ने आदि यावत विषय सङ्कायको कार्यक्षेत्र भित्र रहने भएकोले ती विषयमा देखा परेका हरेक चुनौति र अवसरलाई सम्बन्धित डीनले नै सम्बोधन गर्नुपर्छ भन्नुभयो ।

उहाँले विश्वविद्यालयको अध्ययन र अनुसन्धान विषयलाई सँगसँगै लैजानुपर्ने, स्नातकतहका हरेक कार्यक्रमलाई स्नातकोत्तरतहमा पनि सञ्चालन गर्ने, एमफिल र पिएचडिका कार्यक्रम सञ्चालन गर्ने तथा विश्वविद्यालयमा एक मेडिकल कलेज खोल्ने विश्वविद्यालयको नीति रहेकोले सबैले कलेक्टिभ रेस्पोन्सिबिलिटिमा भोलिको काम आज र आजको काम अहिलेनै गर्ने परिपाटी विकसित गनुपर्ने खाँचो औल्याउनुभयो । विश्वविद्यालय भनेको कर्मचारी, शिक्षक एवम् विद्यार्थीको समष्टिरूप हो भन्दै तिनीहरूको सेवा, सुविधा र अधिकारलाई विश्वविद्यालयले उच्च मूल्याङ्कनका साथ कदर गरेको उल्लेख गर्दै उपकुलपति भट्टराईले विश्वविद्यालयको परीक्षालाई समयसापेक्ष रूपमा सञ्चालन गर्न विश्वविद्यालय कटिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले विदेशीने विद्यार्थीलाई स्वदेशमानै पढ्ने वातावरण सिर्जना गरी राष्टिय दायित्व निर्वाह गर्नु पनि विश्वविद्यालयको कर्तव्य भएकोले सम्बन्धित विषयलाई लक्षित गरेर सम्बन्धन खुलाइएको सो अवसरमा जानकारी दिनुभएको थियो ।

DSC01984

कार्यक्रम मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले नवनियुक्त डीनलाई स्वागत गर्दै समुच्च रूपमा विश्वविद्यालयको पठनपाठनलाई उच्चतहसम्म पु¥याउन विश्वविद्यालयले कार्यक्रम विस्तार गरी गुणस्तरमा अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले समयसापेक्ष रूपमा मेकानिकल विषयमा, अर्थशास्त्रमा कार्यक्रम विस्तार गर्दै शिक्षकको वृत्ति विकास, सेवा सुविधालाई पनि विश्वविद्यालयले सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेश प्रसाद बास्तोलाले आफू विश्वविद्यालयमा नयाँ इतिहास कोर्ने लक्ष्यका साथ अगाडि बढेको उल्लेख गर्दै यसका लागि एउटा मेडिकल कलेज अस्पताल खोल्ने, स्नातकतहका कार्यक्रमको स्तरवृद्धि गर्ने, पाठ्यक्रम रिभाइज गर्दै विश्वविद्यालयले आफ्नो आकारलाई बढाउँदै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो । डीन बास्तोलाले नयाँ कलेजलाई सम्बन्धन दिँदा विषय एक्सपर्टसँग सल्लाह नगरी नयाँ सम्बन्धन दिनु उचित नहुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनियुक्त डीन डा. कर्णवीर पौडेलले सङ्कायलाई स्वतन्त्र रूपमा कार्य गर्न दिनुपर्ने उल्लेख गर्दै सङ्कायको संलग्नता र सिफारिसबीना विश्वविद्यालयले नयाँ सम्बन्धन दिन नहुने तर्क राख्नुभयो । विद्यार्थी भर्ना, प्रवेश परीक्षालाई सङ्कायको मातहतभित्र नै सञ्चालन गर्नुपर्ने, सिम्याटको परीक्षालाई केन्द्रिकृत गर्नुपर्ने, क्यालिटि एस्यूरेन्स, करिकुलम रिभिजन समयसापेक्ष हुनुपर्ने, सङ्कायका कामकारवाहीमा कार्यकारी परिषद्ले हस्तक्षेप गर्न नहुने उल्लेख गर्दै डा. पौड्यालले सङ्कायलाई निर्भिक भएर कार्य गर्न ऐन, नियम, विनियममा अवरोध भएमा तिनको समेत संशोधन र बाधा अड्काउ फुकाउनुपर्ने विचार व्यक्त गर्नु भयो । आफूले सबैको सहयोग पाएमा सङ्कायको सबलीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको विचार थियो ।

परीक्षा नियन्त्रक बलराम भट्टराईले विश्वविद्यालयमा जो कोहि जुनसुकै ढोकाबाट प्रवेश गरेपनि विश्वविद्यालयको हितलाई केन्द्रविन्दुमा राखेर बिग एण्ड बेटरको धारणाले सबैले कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष पूर्णबहादुर खाँडले विश्वविद्यालयमा सबैले आस्थाको लागि नभई निरपेक्ष ढंगले विश्वविद्यालयको हितलाई अगाडि राखेर कार्य गर्नुपर्ने, सबैले आफ्नो कार्यक्षमतालाई सामान्य गतिबाट तिव्रगतिमा लैनानुपर्ने, परीक्षा तथा डीन कार्यालयको क्षमता बढाउनुपर्ने, करार प्राध्यापकको सेवाको सुरक्षा गरिनुपर्ने, शिक्षक तथा कर्मचारीको सेवा सुविधालाई समयानूकुल वृद्धि गर्दै लैजानुपर्ने र तिनीहरूलाई आवासको पनि विश्वविद्यालयले व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कर्मचारी संघका अध्यक्ष रविन्द्र प्रसाद बरालले विश्वविद्यालकाय पदाधिकारीहरू आग्रह, पूर्वाग्रहमा नलागी कार्य गर्नुपर्ने र विश्वविद्यालयले गरेका हरेक वार्ता सम्झौताका बुँदाहरूलाई गम्भिर भएर लागूगर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । केन्द्रका निर्देशकहरू, सङ्कायका सहायक डीनहरू, स्कूलका निर्देशकहरू, कार्यक्रम संयोजकहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू उपस्थित उक्त कार्यक्रमको सञ्चालन सहायक प्रशासक रजनी के.सी. ले गर्नुभएको थियो ।