२०८२ वैशाख २ गते मङ्गलबार, पोखरा–३०, कास्की। पोखरा विश्वविद्यालयले आफ्ना कर्मचारीहरूको सूचना प्रविधि तथा व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले एक साता लामो प्रशासनिक क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ। विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा सञ्चालन गरिएको यो ४५ घण्टा (३ क्रेडिट) अवधि भएको तालिम २०८१ चैत्र २७ देखि २०८२ वैशाख २ गतेसम्म पोखरास्थित होटल ल्याण्डमार्क, लेकसाइडमा सम्पन्न भएको हो।
तालिमको उद्घाटन सत्र पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रममा रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारी, विभिन्न संकायका डीनहरू, र विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। विश्वविद्यालयका विभिन्न निकायमा कार्यरत ३३ जना लेखा तथा प्रशासन शाखाका अधिकृतदेखि सहायकस्तरसम्मका कर्मचारीहरूले तालिममा सहभागिता जनाएका थिए ।
तालिममा विश्वविद्यालय प्रशासनसँग सम्बन्धित विभिन्न व्यवहारिक र प्रविधिमैत्री विषयहरूमा प्रशिक्षण प्रदान गरिएको थियो। विश्वविद्यालयका कर्मचारीहरूको प्रमुख कार्य र जिम्मेवारी, बजेट र लेखा प्रणाली, सार्वजनिक खरीद प्रक्रिया, दस्तावेज तयार गर्ने तरिका, एआई प्रविधिको प्रयोग, एमएस एक्सेल र पावर पोइन्टको प्रयोग, कार्यालय व्यवहार, कर्मचारी प्रोत्साहन, अन्तरव्यक्तिगत सम्बन्ध व्यवस्थापन, मानसिक स्वास्थ्य, कार्यालय प्रशासन, माइन्युट लेखन, पत्राचार, विन्डोज युटिलिटी र तालिका तथा डेटासेट निर्माण लगायतका विषयहरूमा दक्ष प्रशिक्षकहरूबाट सत्रहरू सञ्चालन गरिएका थिए। तालिमलाई प्रशिक्षकहरू डा. दयाराज ढकाल, सह–प्रशासक ध्रुव प्रसाद अर्याल, सह–प्रशासक तारादेवी सापकोटा, सह–प्रशासक गोबर्धन भट्टराई, सह–प्रशासक तेजनारायण पराजुली, सह–प्रशासक टोलमाया थापा, इ. सन्तोष पौडेल, इ. यज्ञनाथ रिमाल, इ. किरण के.सी., डा. दिलीपराज पौडेल, रामप्रसाद थपलिया, नीशा राजकर्णिकार, सुशान्त पौडेल र उत्तम आचार्यले प्रशिक्षण दिनुभएको थियो ।
पोखरा विश्वविद्यालयको प्रशासनिक क्षमता विकास तालिमको समापन कार्यक्रम स्वास्थ्य विज्ञान संकायका डीन तथा निमित्त उपकुलपति सह–प्रा.डा. अमर नागिलाको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उहाँले तालिम समसामयिक र अत्यन्तै उपयोगी विषयमा केन्द्रित भएको बताउँदै, सहभागीहरूले सात दिनसम्म सिक्न, बुझ्न र अनुभव साटासाट गर्ने राम्रो अवसर पाएको उल्लेख गर्नुभयो।
उहाँले विश्वविद्यालयजस्तो ज्ञान केन्द्रमा कार्यरत कर्मचारीहरूलाई सूचना प्रविधि र व्यवस्थापन सम्बन्धी दक्षता आवश्यक भएको र एआईको युगमा म्यानुअल कामले पछि पार्ने भएकाले सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
त्यस्तै, व्यवस्थापन संकायका डीन तथा निमित्त रजिष्ट्रार सह–प्रा.डा. दयाराज ढकालले तालिमको समग्र व्यवस्थापन र सहभागीहरूको सिक्ने उत्साहलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्नुभयो। उहाँले प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा प्रयोग गरी अझ दक्ष र प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।
प्रशासनिक क्षमता विकास तालिम समितिका संयोजक सह–प्रा.डा. पूर्णबहादुर खाँडले तालिम सफल बनाउन टिम वर्कमा आधारित भएर भरमग्दुर प्रयास गरिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “तालिमको मोडालिटी तथा विज्ञ छनोट सम्बन्धी प्रस्ताव विश्वविद्यालय अनुदान आयोग (UGC) मा पठाइएको थियो। स्वीकृति प्राप्त भएपछि कार्यक्रम अगाडि बढाइयो। प्रशिक्षकहरू विश्वविद्यालय भित्रका अनुभवी कर्मचारीहरू तथा केही बाह्य विज्ञहरूबाट छनोट गरियो, जसले संस्थाको आवश्यकता, चुनौती र सम्भावनालाई राम्ररी बुझ्नु भएको थियो । त्यसैले तालिमका विषयवस्तुहरू पनि उहाँहरुकै सक्रिय सहभागितामा तयार गरिए र कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरियो।”
प्रशासनिक क्षमता विकास तालिम नेपालकै सन्दर्भमा उदाहरणीय र पहिलोपटकको अभ्यास भएको बताउँदै तालिम व्यवस्थापन समितिका सदस्य उपप्राध्यापक डा. बद्रि अर्यालले भन्नुभयो, “यस किसिमको तालिम नेपालमै पहिलो हो। विश्वविद्यालय अनुदान आयोग (UGC) मा प्रस्ताव पेश गरी स्वीकृति प्राप्त गरेपछि कार्यक्रम सुरु गर्न सफल भयौं।”
यसै क्रममा तालिमकी प्रशिक्षक, कार्यक्रम सञ्चालक तथा सह–प्रशासक श्रीमती तारादेवी सापकोटाले विश्वविद्यालयमा कर्मचारीहरूलाई माया, सम्मान र सहयोग प्रदान गर्ने सकारात्मक वातावरण आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, भविष्यमा कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि यस्ता तालिम कार्यक्रमहरूलाई निरन्तरता दिँदै, उनीहरूको सहभागिता अझ बढाउनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।
उक्त अवसरमा प्रशिक्षार्थी गायत्री पनेरुले तालिमको बारेमा प्रतिक्रिया दिँदै भन्नुभयो, “यस तालिमले हाम्रो व्यक्तिगत क्षमता र पेशागत दक्षता अभिवृद्धिमा ठूलो सहयोग पुर्यायो। यहाँ सिकिएका कुराहरूलाई केवल आफूभित्र सीमित नराखी, कार्यस्थलमा व्यवहारमा उतार्न आवश्यक छ भन्ने कुरा गहिरो रूपमा बुझ्न पाइयो। यस्ता अवसरहरूलाई निरन्तरता दिनुपर्छ भन्ने महसुस भयो।”
त्यस्तै, अर्का प्रशिक्षार्थी तोरणबहादुर बि.क.ले तालिममा सूचना प्रविधिसँग सम्बन्धित विषयहरू समावेश गर्नु सकारात्मक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “तालिममा आईटीसँग जोडिएका विषयवस्तुहरू समेटिएको थियो, जुन अहिलेको समयमा अत्यन्त सान्दर्भिक र उपयोगी लाग्यो। साथै, अग्रजहरूबाट प्राप्त कार्यअनुभव हाम्रो लागि प्रेरणादायी रह्यो। यदि तालिममा नियम, कानुन र व्यवस्थापनसम्बन्धी पक्षहरू अझ स्पष्ट र व्यावहारिक रूपमा प्रस्तुत गरिएको भए तालिम झनै प्रभावकारी हुनेथियो।”
तालिम व्यवस्थापन समिति सह–प्रा.डा. पूर्णबहादुर खाँडको संयोजकत्वमा गठन गरिएको थियो। समितिमा सह–प्रा.डा. विश्वनाथ लामिछाने, सह–प्रा.डा. हरि प्रसाद काफ्ले, सह–प्रा.डा. दिपाञ्जल श्रेष्ठ, डा. बद्रि अर्याल, डा. प्रदीप सापकोटा सदस्य हुनुहुन्थ्यो भने हुमादेवी पौडेल कर्मचारी सहयोगीको रूपमा सहभागी हुनुहुन्थ्यो।