Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

पोखरा विश्वविद्यालय स्थापनाको २८ वर्षमा प्रवेश

16/07/2024

पोखरा विश्वविद्यालय स्थापनाको २८ वर्षमा प्रवेश

२०८१ श्रावण १ गते मङ्गलबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय आजबाट २८ वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार यो वि.सं. २०५४ साल श्रावण १ गते स्थापना भएको हो । विश्वविद्यालय स्थापनाको २८ औं वर्षगाँठको अवसर पारेर विश्वविद्यालयले आज विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमलाई विश्वविद्यालय उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयमा २५ वर्ष अटुट सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदकसहित सम्मान पनि गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्टार प्रा.डा. दिपकबहादुर भण्डारी लगायतका पदाधिकारीहरूले दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीहरूलाई सुनचाँदीलाई टकमरी बनाइएको दीर्घ सेवा पदक, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्नुभयो । सम्मानित हुनुहुनेमा प्राध्यापक हरिबहादुर खड्का, सह–प्रशासकहरू– यादव थापा, गोबर्धन भट्टराई, हेमन्तराज कण्डेल, टोलमाया थापा तथा उप–प्रशासकहरू सीता देवी ढकाल, लोकप्रसाद ढकाल, शंकर पौडेल, सहायक प्रशासक बाबुराम अर्याल, मुख्य सहायक बिमल कार्कि, सवारी चालकहरू विष्णुराज गिरी र सुरेन्द्रमान बज्राचार्य एवम् कार्यालय सहयोगीहरू चन्द्र सुवा गुरूङ, चन्द्रकुमारी चेम्जोङ, जीवनाथ फुयल र सन्तोषि गिरी हुनुहुन्छ । सम्मान समारोहमा गोबर्धन भट्टराई, सीतादेवी ढकाल र बिमल कार्कि अनुपस्थित हुनुहुन्थ्यो ।

विश्वविद्यालयको २८ औ स्थापना दिवसलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालय जसले जन्मायो उसले धेरै पिडाका साथ जन्माएको उल्लेख गर्दै यसको विकासका लागि सबै सत्पात्र भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालय एउटाको सोच र चिन्तनले मात्र अगाडि नबढ्ने भन्दै यसको सुधारको लागि सबैको सामूहिक दायित्व र कर्तव्य हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो । उपकुलपतिले विश्वविद्यालयले समाजको सेवा गर्नुपर्छ भन्दै शिक्षण अस्पताल पनि सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले सबैसँग छलफल सल्लाहबाट दीर्घकालीन योजनाहरूको परिकल्पना गरी काम कारवाही अगाडि बढाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले पैसाको अभावमा पोखरा विश्वविद्यालयको विकास नरोकिएको उल्लेख गर्दै यहाँ काम गर्ने केहीको नकारात्मक सोच र शैलीले विश्वविद्यालयले अपेक्षित गति लिन नसकेको टिप्पणी गर्नुभयो । सहि नियत र जिम्मेवारीमा दृढ भई काम गर्नेलाई विश्वविद्यालयले उचित मूल्याङ्कन गर्ने उल्लेख गर्दै राम्रो काम गर्नेको पछाडि अख्तियार नलाग्ने र उसको पदोन्नति पनि नरोकिने बताउनुभयो । रजिष्टार भण्डारीले विश्वविद्यालय एउटा सिस्टममा चल्ने बताउँदै विद्यार्थीलाई आकर्षित गर्न शिक्षकहरू राम्रो र दक्ष हुनुपर्ने उहाँको भनाई थियो । उहाँले हामी अन्य विश्वविद्यालय जस्तो नभएकोले हामी आफै कमाएर खानुपर्ने भएकोले स्कूललाई नाफामा लग्न सकेमात्र हामीले लिने सेवा र सुविधालाई पनि बढाउन सकिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा.डा. अजय थापाले विश्वविद्यालयले विगत ५ वर्षदेखि अन्य विश्वविद्यालयसरह विद्यार्थी पलायन जस्तो विशिष्ट खालको चुनौतिको सामना गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले यसको सुधारका लागि विश्वविद्यालयले नयाँ कार्यक्रम थप र श्रमबजार अनुसार पाठ्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविालयले उत्पादन गरेका साठी हजार भन्दा बढी दक्ष जनशक्ति स्वदेश, विदेशका बजारमा रहेको उल्लेख गर्दै यो निकै गौरव गर्न लायक विषय भएको उल्लेख गर्नुभयो । उहाँले २५ वर्षको अवधिमा शुन्यबाट आजको अवस्थामा विश्वविद्यालय आएपनि यसलाई अझै चिलजस्तो उचाईमा उडान भर्ने सोच र विश्वाससहित अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेश कुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झेर अनुशासनमा रही जिम्मेवारी बहन गर्नुपर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयमा कार्यरत सबै पदाधिकारी, शिक्षक, कर्मचारीको हैसियत सहयोगी भएको उल्लेख गर्दै सेवाग्राहीलाई कसरी छिटो छरितो रूपमा सेवा दिन सकिन्छ भन्ने भावले सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नराम्रो कामका लागि उर्जा खेर फाल्नुभन्दा सकारात्मक सोचका साथ सकारात्मक काममा उर्जा बढाउन सके विश्वविद्यालयमा सबैको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले पोखरा विश्वविद्यालयमा जस्तो सुकै आस्था र विचारमा रहेपनि नियमावलीमा बसेर काम, कर्तव्य र अधिकारमा बसेर काम गर्नेलाई इतिहासले मूल्याङ्कन गर्ने बताउनुभयो । उहाँले उच्च शिक्षालाई संसारभर शीरको ताज बनाएर राखिन्छ भन्दै विश्वविद्यालयको केन्द्र भनेको विद्यार्थी रहेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीको हितमा काम गरे तपाई हाम्रो जागिर रहन्छ, नगरे जागिर रहँदैन भन्नुभयो । उहाँले विश्वविद्यालयमा मेडिकल स्कूलको स्थापना गरेर अनुसन्धान कार्य अगाडि बढाउन सके विश्वविद्यालयलाई थोरै भएपनि भारथेक गर्न सकिने बताउनुभयो ।

पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन सह–प्रा.डा. दयाराज ढकालले आफ्नो दुई आमा, एउटा जन्मदिने आमा र अर्को आफ्नो क्षमता, गुणस्तर देखाउने पोखरा विश्वविद्यालय आमा रहेको उल्लेख गर्नुभयो । उहाँले यी दुई आमाको अवस्था पहिला निकै दयनीय रहेको र अहिले एउटी आमा न्यूयोर्कमा ऐस आरामका साथ रहेकी र अर्की आमाले भौतिक एवम् शैक्षिक पूर्वाधारमा निकै प्रगति गरेको देख्दा आफूलाई निकै गर्व लागेको उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयप्रतिको आफ्नो प्रेम अटुट र अविच्छिन्न रहको उल्लेख गर्दै आफू यसैमा रमाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. उमेशसिंह यादवले राष्ट्रिय गान बज्दा त्यसलाई सबैले धक र लाज नमानी गाउनुपर्ने उल्लेख गर्दै यस कार्यले राष्ट्रप्रति उसको सम्मान झल्किने बताउनुभयो । उहाँले विश्वविद्यालयमा कोहि कसैले आस्थाको राजनीति मुखुण्डो ओढेर त्यसको पक्षमा काम गर्न नहुने उल्लेख गर्दै सबैले विश्वविद्यालयको सिस्टमबमोजिम काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालय शिक्षक कर्मचारी दुबैको संयुक्त पहल र कार्यले मात्र अगाडि बढ्न सक्ने भन्दै विश्वविद्यालयको गुणस्तरलाई जीवन्त राख्न यसको सिस्टम नभाँची अग्रानिक ग्रोथमा अगाडि बढाउन सबैले पहल गर्नुपर्ने उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका स्कूल निर्देशक डा. ओमप्रकाश गिरीले परिवर्तन अरूबाट होइन आफूबाटै शुरू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा धेरै परिवर्तन र विकास भएको उल्लेख गर्दै अझ यसलाई सबैको सामूहिक पहलले धेरै राम्रो, हाम्रो र गर्व गर्ने विश्वविद्यालय बनाउन सक्छौं भन्नुभयो । उहाँले विश्वविद्यालयको नीतिगत तहमा स्कूललाई पनि समावेश गर्नुपर्ने उल्लेख गर्दै यसले स्कूलको समस्याहरू सम्बोधन गर्न सहज हुने बताउनुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्रा.डा. दिपेन्द्रकुमार यादवले विश्वविद्यालयको वर्तमान नेतृत्वको अथक प्रयासले नयाँ नयाँ भवनहरू बनेको, विभिन्न परियोजनाहरू सञ्चालन भएको र अस्पताल सञ्चालन गर्न सकिएको उल्लेख गर्नुभयो । उहाँले वर्तमान नेतृत्व लगनशिल भएर विश्वविद्यालयको कामहरूलाई अद्यावधिक गर्ने पथमा हिडिरहेकोले यसलाई सबैको साथ र सहयोग भएमा विश्वविद्यालय अझै अगाडि बढ्न सक्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य योगराज लामिछानेले विश्वविद्यालयका नियुक्तिहरू राजनीतिक भागबण्डाका आधारमा हुन नहुने उल्लेख गर्दै यसलाई मापदण्डको आधारमा कार्यविधि बनाएर गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले विश्वविद्यालयका प्राध्यापकमा भिजन भएकोले पदाधिकारी हुनका लागि प्रतिवेदन बनाएर बस्न आग्रह गर्नुभयो । उहाँले प्राध्यापकहरूको राजनीतिक सम्बन्ध राम्रो भएकोले उक्त सम्बन्धलाई नियुक्तिमा नभई विश्वविद्यालयको उन्नयनमा लगाउन समेत आग्रह गर्नुभयो । उहाँले उस्तै उस्तै प्रकृतिमा स्थापना भएका मध्यपश्चिम र सुदूर पश्चिम विश्वविद्यालयको सम्पूर्ण आर्थिक दायित्व सरकारले बहन गर्ने तर पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयलाई आफै कमाएर खा भन्ने नीति अपमानपूर्ण रहेको उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा.डा. दीपकराज पौडेलले विश्वविद्यालयमा शिक्षकले दिएको प्रेसर छिटो लागू हुने, तर कर्मचारीको सुनेको नसुनै गर्ने प्रवृत्ति गर्न नहुनेमा जोड दिनुभयो । उहाँले नकारात्मक सोचले विश्वविद्यालय उभो नलाग्ने भन्दै आफू विश्वविद्यालयको वृत्ति विकासका लागि अगाडि बढेँ कि अड्काउन बढेँ भन्ने कुरालाई सबैले मनन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति सह–प्रा.डा. निरञ्जन श्रेष्ठले पोखरा विश्वविद्यालय छ र त हामी छौं भन्दै सबैले आ–आफ्नो जिम्मेवारी कर्तव्यकासाथ निभाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा पदाधिकारी बन्न एउटा मापदण्ड बनाउनुपर्ने उल्लेख गर्दै पदका लागि राजनीति नगर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले विश्वविद्यालयमा सबैको उचित समयमा वृत्तिविकास र पदोन्नति हुनुपर्ने उल्लेख गर्दै यसका लागि विश्वविद्यालयले वार्षिक क्यालेण्डर बनाएर सेवा आयोग खुलाउनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयका स्कूल अफ बिजनेशका प्राध्यापक तथा दीर्घ सेवा पदकबाट सम्मानित व्यक्तित्व प्रा.हरिबहादुर खड्काले पोखरा विश्वविद्यालय पहिला सानो आकारमा रहेको र अहिले बिशाल भएको उल्लेख गर्दै जहाँ गएपनि पोखरा विश्वविद्यालयका विद्यार्थीहरूसँग साक्षात्कार हुने भएकोले हामीलाई सम्मान मिलेको छ भन्नुभयो । उहाँले विश्वविद्यालयको प्रशासनिक र शिक्षण दुबैमा मानव संसाधन निकै राम्रो रहेको उल्लेख गर्दै मनमुटाव नराखी सबैले मिलेर राम्रो कार्य गरेमा संस्था त्यत्तिकै राम्रो हुने विचार राख्नुभयो । उहाँले आफूले विश्वविद्यालयबाट धेरै अवसर प्राप्त गरेको उल्लेख गर्दै जिम्मेवारी बोधका साथ सबैले काम गरे बेलुका घरमा समेत सन्तुष्टी मिल्ने उहाँको भनाई थियो ।

सम्मानित व्यक्तित्व विश्वविद्यालयका सह–प्रसाशक यादव थापाले विश्वविद्यालयले समकालीन सबैलाई सम्मान दिएकोमा विश्वविद्यालयप्रति आभार व्यक्त गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयमा अवसर पनि चुनौति पनि दुबै रहेको उल्लेख गर्दै विश्वविद्यालयलाई केन्द्रबिन्दुमा राखेर आ–आफ्नो कर्तव्यलाई मन, वचन र कर्मले निभाउन सके सबैको भविष्य सुनौलो रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले आफै कमाएर खानुपर्ने भएकोले उपलब्ध साधन र स्रोतलाई ध्यानमा राखेर कार्य गर्नुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयका सह–प्रशासक तेजनारायण पराजुलीले २७ वर्ष अगाडि रोपेको सानो वृक्ष आज वयस्क भएको र यसबाट प्राप्त फलफूल समाजले पाएर लाभान्वित भएको उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयमा कुचो लगाउनेदेखि इट्टा थप्ने सबैको उत्तिकै योगदान रहेको भन्दै विश्वविद्यालयमा काम गर्नेलाई सबै ठाउँबाट सम्मानको दृष्टिकोणले हर्ने गरेको बताउनुभयो । विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति देशभित्रका सरकारी कार्यालय, संघसंस्थामा मात्र नभई अन्तर्राष्टियस्तरमा समेत जताततै उच्चतहमा बसी काम गरेको र म पोखरा विश्वविद्यालयमा काम गर्छु भन्ने थाहा पाएपछि त्यहाँबाट पाउने सहयोगले आफूलाई निकै आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो । उहाँले पोखरा विश्वविद्यालयमा अन्यत्रको भन्दा सेवा सुविधामा राम्रो रहेको बताउँदै यसलाई फरक ढाँचाले पढ्ने वातावरण बढाउनुपर्ने र अनुसन्धानमा केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व पोखरा विश्वविद्यालयका सह–प्रशासक टोलमाया थापाले विश्वविद्यालयमा २५ वर्षको अवधि गुजार्नु सानो कुरा नभएको र यो एउटा इतिहास भएको बताउनुभयो । उहाँले शुरूमा विश्वविद्यालयमा जागिर खाँदा बिदा नपाईने, थोरै सङ्ख्याका कर्मचारीलाई कामको बोझ धेरै हुँदा घर समेत जान नपाएको स्मरण गर्नुभयो । ऊ बेला मेरो स्वर्गीय आमाले छोरीलाई पढाएर गल्ती गरेछु भन्नुहुन्थ्यो, आज पदक, दोसल्ला र अबिर जात्रे अनुसार उहाँलाई देखाउँन पाएको भए पढाएर राम्रो गरेछु भन्नुहुन्थ्यो होला, त्यसैले पहिलाको जस्तो कठिन अवस्था विश्वविद्यालयमा अहिले नरहेको उहाँको भनाई थियो । आफ्नो जिम्मेवारीलाई कर्तव्यका साथ निभाउन सके विश्वविद्यालयले एक न एकदिन अवश्य मूल्याङ्कन गर्छ भन्दै विश्वविद्यालयको हितका लागि सबैले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाईले कर्मचारी पनि विश्वविद्यालयको एउटा हिस्सा भएकोले आस्थाका भरमा विश्वविद्यालयमा शिक्षक र कर्मचारीमा विभेद गर्न नहुने तर्क राख्नुभयो । उहाँले आचारसंहिता विपरित हिडेको कर्मचारी मात्र होइन, शिक्षकलाई पनि त्यही अनुरूप कारवाही गर्नुपर्ने उल्लेख गर्दै शिक्षकलाई ५ वर्षमा बढुवा चाहिने, तर कर्मचारीलाई बढुवाका लागि १० वर्षभन्दा बढी कुर्नुपर्ने कुरा जायज नभएको उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय स्थापना दिवस कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।

Next Articles