पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको समुद्घाटन सम्पन्न

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको समुद्घाटन सम्पन्न


२०८१ जेठ ७ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको समुद्घाटन सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री खगराज अधिकारीले पोखरा–३०, कास्की स्थित पोखरा विश्वविद्यालय परिसरमा निर्माण भएको १०० शैयाको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आज शिलालेख अनावरण एवम् रिवन काटी बिधिवत रूपमा समुद्घाटन गर्नुभएको हो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री अधिकारीले पोखरा विश्वविद्यालय कोही कसैको एकल प्रयासबाट नभई सबैको सामूहिक पहल र योगदानबाट स्थापना भएको उल्लेख गर्दै शिक्षण अस्पतालले सबैको सहज पहुँच र अपनत्व हुने गरी स्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री अधिकारीले विश्वविद्यालयले जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बीमा र यस क्षेत्रका अन्य स्वास्थ्य संस्थाहरूसँग समन्वय गरी विश्वविद्यालयले अस्पतालको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा विश्वविद्यालयलाई प्रदेश सरकारको महत्वपूर्ण सहयोग रहने उहाँको भनाई थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दासले विश्वविद्यालयले अनुसन्धान र खोजलाई प्राथमिकतामा राखेर ११ वटा छिमेकी जिल्लामा स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयमा शिक्षण अस्पताल सञ्चालन गर्न पाउँदा आफूले निकै गौरवान्वित महसूस गरेको उल्लेख गर्नुभयो । उहाँले शिक्षण अस्पतालको सञ्चालनले स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत विद्यार्थीले अन्य अस्पतालमा गएर प्रयोगात्मक अभ्यास गर्नुपर्ने अवस्थाको अन्त्य भएको र यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा सुलभ र सहजता प्राप्त हुने विचार व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयको शिक्षा र स्वास्थ्य सेवालाई अनुकरणीय तुल्याउन सरकारले विशेष लगानीका साथ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरा विश्वविद्यालय क्रमिक रूपमा सेवाहरू विस्तार गरी लक्ष्य अनुरूप प्रगति पथमा अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले अनुसन्धानात्मक क्रियाकलापलाई अझ बढि केन्द्रीत गरी स्वास्थ्य सेवालाई प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार एवम् शिक्षण अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. दिपक बहादुर भण्डारीले पोखरा विश्वविद्यालय यस क्षेत्रकै गहना रहेको उल्लेख गर्दै शिक्षण अस्पताललाई देशको एक उत्कृष्ट सेवा दिने स्मार्ट अस्पतालको रूपमा विकास गर्ने सोच रहेको बताउनुभयो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय डीन सह–प्रा.डा. अमर नागिलाले शिक्षण अस्पताल विश्वविद्यालयको महत्वाकांछी योजना रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयमा २० वर्षदेखि सञ्चालित चिकित्सा शिक्षासँग सम्बन्धित शैक्षिक कार्यक्रमहरूको सञ्चालनलाई अस्पताल नभई नहुने भएकोले अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो । विश्वविद्यालयमा सञ्चालित नर्सिङ, प्रयोगशाला विज्ञान, जनस्वास्थ्य, फार्मेशी आदिका स्नातक एवम् स्नातकोत्तर तहका कार्यक्रमहरू अनवरत सञ्चालन र गुणस्तरीय शिक्षा दिनलाई मात्र नभई समाजसँग जोड्न र सेवा भाव प्रदान गर्न समेत अस्पताल अपरिहार्य रहेको उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक सह–प्रा.डा. दिपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनमा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी लगायत प्रदेश सरकारका माननीय मन्त्री सचिवहरूको महत्वपूर्ण भूमिका र योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले अस्पताललाई आवश्यक उपकरण, साधन तथा जनशक्तिको व्यवस्थापन गरिएको र आउँदा दिनमा सबैलाई समेट्ने र स्थानीयलाई सर्वसुलभ हुने गरी स्वास्थ्य सेवालाई प्रभावकारी तुल्याउने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

समाजसेवी स्थानीय विष्णु पोखरेलले पोखरा विश्वविद्यालयको स्थापनामा भएका पहलकदमी, योगदान र सहयोगलाई विश्वविद्यालयले अभिलेखिकरण गर्दै यसको गरिमा उच्च राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयमा अस्पताल सञ्चालनले स्थानीयको शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण सहयोग एवम् सेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापनि सह–प्रा.डा. निरञ्जन श्रेष्ठले विश्वविद्यालयले अस्पतालको स्तरोन्नति गर्दै जानुपर्ने तथा विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य जाँचमा विशेष सहुलियता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष चोलाकान्त च्वाँईले शिक्षण अस्पतालको सञ्चालनले विश्वविद्यालयको थप उचाई बढेको उल्लेख गर्दै अस्पतालबाट स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विभिन्न कार्यालय र संघ संस्थाका कार्यालय प्रमुख, स्थानीय समाजसेवी, आमासमूह, स्वास्थ्य संस्थाका प्रमुख, वडा प्रमुख आदि गरी छसय भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।