शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न !!!

शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न !!!

२०७८ असोज १९ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले बडादशै, तिहार, छठ–२०७८ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयमा राम्रा कामको भन्दा नराम्रा र अपुस्ट हल्लाहरूले विश्वविद्यालयको विकास र विस्तारमा बाधा उत्पन्न गरेको बताउनुभयो । उहाँले सत्य र तथ्यको मात्र विश्वास गरी मनभित्रका विकार निकालेर सकारात्मक सोचले अगाडि बढ्न सबैलाई आग्रह समेत गर्नुभयो । उपकुलपतिले विकास रफ्तारमा नहुने भन्दै एकपछि दुई, दुईपछि तीन र तीनपछि चार गेयरजस्तै विस्तारै हुने बताउनुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालय राष्ट्रका कर्णधार उत्पादन गर्ने थलो भएकोले नयाँ र उत्पादमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी संख्या बढाइने जानकारी दिनुभयो । उहाँले विश्वविद्यालयको विकासका लागि भौतिक पूर्वाधार अपरिहार्य भएकोले यसतर्फ विश्वविद्यालयले विशेष ध्यान दिएको बताउनुभयो । साथै उहाँले विश्वविद्यालय सबैको साझा चौतारी भएकोले यसमा लुकेर छिपेर कुनै पनि अहितकारी कार्यहरू नगरिने बताउनुभयो ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन सहप्राध्यापक राजेकुमार ठगुराठी, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक डा. नमराज धामी, परीक्षा नियन्त्रक सहप्राध्यापक डा.तुल्सीराम भण्डारी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख सहप्राध्यापक डा. दिपकराज पौडेल, स्कूल अफ ईञ्जिनियरिङ्गका स्कूल निर्देशक उपप्राध्यापक ओमप्रसाद गिरी तथा पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष उपप्राध्यापक हेमराज पाण्डे र कर्मचारी संघका अध्यक्ष उपप्रशासक शिवराज पण्डितले चाड पर्वहरूमा विश्वविद्यालय परिवार एकजुट भएर एकै ठाउँमा मनाउनुपर्ने औल्याउँदै दशै तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहप्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।