विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन विस्तार कार्य अन्तिम चरणमा !

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन विस्तार कार्य अन्तिम चरणमा !

२०७८ असोज २० गते बुधबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय केन्द्रीय प्रशासनिक भवन विस्तार अन्तिम चरणमा पुगेको छ । ८ कारोड भन्दा बढी लागतमा निर्माण गरिने उक्त परियोजनालाई विश्वविद्यालयमा आज आयोजित एक कार्यक्रममा परामर्शदाता र ईञ्जिनियरहरूद्वारा जानकारी दिइएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी लगायत संकायका डीन, निर्देशक, प्रमुख पदाधिकारीहरू आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा हालको मौजुदा दुईतले नयाँ केन्द्रीय प्रशासनिक भवनलाई सुधार गर्ने र त्यसमाथि दुईतला थप गरी चारतले बनाउने, प्रतीकात्मक आकर्षक डिजाइनको केन्द्रीय प्रवेशद्वार निर्माण गर्ने तथा आन्तरिक सडक, फुटपाथ, ड्रेनेज, बगैचा र पार्किङ्ग लगायतको निर्माण योजनाको मस्यौदा प्रस्तुतिकरण गरिएको थियो । केन्द्रीय प्रशासनिक भवन विस्तार लगायत अन्य कार्यको डिजाइन, ड्रइङ्गसम्बन्धी सम्पूर्ण कार्य र त्यसको मूल्यांकन सम्पन्न भएपछि ठेक्कामा गई यसै वर्षको माघदेखि निर्माण कार्य शुरू हुनेछ र २०८० सालको मध्यसम्म सबै कार्य सम्पन्न गरिने लक्ष्य छ ।

विश्वविद्यालयले यस वर्ष विभिन्न कार्यक्रम गरी रजतजयन्ती मनाउँदै गर्दा विभिन्न किसिमका निर्माण परियोजनासहित शिक्षण अस्पताल सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखी अगाडि बढिरहेको छ ।