पोखरा विश्वविद्यालयको पोलिटेक्निक अफ कार्टेजेना र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजीसित सम्झौता

पोखरा विश्वविद्यालयको पोलिटेक्निक अफ कार्टेजेना र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजीसित सम्झौता

२०७९ श्रावण २२ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले ईञ्जिनियरिङ्गका विद्यार्थीहरूलाई आदानप्रदान गर्ने मुख्य उद्देश्यले हालै पोलिटेक्निक अफ कार्टेजेना र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजीसित एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ । सझदारीपत्रमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र पोलिटेक्निक अफ कार्टेजेना युनिभर्सिटी, स्पेनका रेक्टर बीट्रिज मिगुएल हर्नान्डेजले यही साउन १० गते हस्ताक्षर गर्नुभएको हो ।

पोखरा विश्वविद्यालयका उपकुलपतिसहित रजिष्ट्रार सह–प्रा. डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा. राजेशकुमार ठगुराठी लगायतको टिमले स्पेनमा अवस्थित पोलिटेक्निक अफ कार्टेजेना युनिभर्सिटीको हाताभित्र उक्त सम्झौता गरेको हो । सम्झौताको प्रमुख उद्देश्य उच्च शिक्षालाई उत्कृष्टता केन्द्रका रूपमा विकास गर्न शिक्षण, सिकाई र अनुसन्धानका गतिविधिहरूका माध्यमले उत्पादनमूलक, कल्याणकारी केन्द्रित् एवम् राष्ट्र तथा सामाजिक विकासमा योगदान पु¥याउने प्रतिबद्ध जनशक्ति सिर्जना गर्नु रहेको छ । यस समझदारीले पारस्परिक हितका शैक्षिक क्षेत्रहरूमा दुबै पक्षद्वारा सम्भावित सहयोगको सम्बन्धमा दुबै पक्ष बीचको छलफल र वार्ताहरू आयोजना गरी सम्भावित कार्यक्रमहरू तय गर्न मार्ग प्रशस्त गरेको छ ।

दुबै संस्थाले अब उप्रान्त अनुसन्धानकर्ता र अन्य अनुसन्धान र प्रशासनिक कर्मचारी आदानप्रदान गर्ने; सहयोगी अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने; लेक्चरहरू सञ्चालन गर्ने तथा संगोष्ठीहरू, कार्यशालाहरू र सम्मेलनहरू संयुक्त रूपमा आयोजना गर्न सक्नेछन् । त्यसै गरी आपसी सहयोगको विकास, शैक्षिक सामाग्री र सूचनाको आदानप्रदान गर्ने; विश्वव्यापी रूपमा दर्शकहरूको लागि अध्ययन र अनलाइन शिक्षाको कार्यक्रमहरू विकास र वितरण गर्ने; आपसी सहमति अनुसार अन्य शैक्षिक सहयोग प्रबर्धन गर्ने; संयुक्त पाठ्यक्रम वा डिग्री कार्यक्रमहरू विकास गर्ने सम्भावनाहरू अन्वेषण गर्ने तथा शैक्षिक प्रशिक्षण र विकासमा हातेमालो गर्दै अगाडि बढ्ने छन् ।