जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनिकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार

जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनिकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार

२०७९ साल असार १७ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको सक्रियतामा जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनिकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्न भएको छ । अनुसन्धान केन्द्रको एपिसोडको ८ औं श्रृंखलाअन्तर्गत रहेको उक्त सेमिनारका प्रमुख वक्ता डा. गोविन्द राज तिमिल्सिना हुनुहुन्थ्यो । उहाँ विश्व बैंक, वाशिङ्टन, डिसीको विकास अनुसन्धान समूहका वरिष्ठ अनुसन्धान अर्थशास्त्री हुनुहुन्छ ।

सेमिनारमा पृथ्वीमा बढ्दै गएको तापमानले कसरी जलवायु परिवर्तन गरेको छ भन्ने विषयमा व्याख्या भयो । विश्वमा बढ्दै गएको जनसङ्ख्याले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा ठूलो योगदान पु¥याएको देखिन्छ । मानवीय क्रियाकलापका कारण वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकरण आदिमा वृद्धि हुँदै गएको छ र यसले मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइडजस्ता हरित गृह ग्याँस र ओजन तह विनास गर्ने क्लोरोफोरो कार्बन जस्ता अन्य विषाक्त ग्याँसको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ । विषाक्त ग्याँस उत्सर्जनका कारण परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तामक्रममा क्रमिक वृद्धि भइरहेको छ । जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणाली (इकोसिस्टम) को सन्तुलनलाई अस्थिर तुल्याइ दिएको छ । जसले प्राकृतिक विपत्ति, जैविक विविधतामा ह्रास, मानव स्वास्थ्यमा जोखिम सिर्जना गरेको छ । हरित गृह ग्याँस उत्सर्जनको लागि चीन, संयुक्त राज्य अमेरिका, भारत, रसिया, जापान, जर्मनी, ईरान, दक्षिण कोरिया, साउदी अरेयिबा, इन्डोनेसिया आदि देश प्रमुख जिम्मेवार देखिन्छन् ।

डा. तिमिल्सिनाका अनुसार नेपालमा जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि, लामो खडेरी, भू–क्षय, बाढी पहिरो, हिमताल विस्फोट, शितलहर, धेरै दिनसम्म कुहिरो लाग्ने, पानीका स्रोत सुक्ने, बन डढेलो लाग्ने आदि देखिएको छ । जलवायु परिवर्तनले रैथाने वनस्पतिहरूको लोपोन्मुखता, बासस्थानको क्षयीकरण, नयाँ मिचाहा प्रजातिका वनस्पतिहरूको फैलावट तथा रोग र किराको प्रकोपमा वृद्धि देखिएको छ । सेमिनारमा जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षण र सम्बर्धन गर्ने, दिगो वातावरणीय सेवा सुनिश्चित गर्ने, कार्बन सञ्चिति बढाउने र हरितगृह ग्यास उत्सर्जन कम गर्ने खालका कार्यक्रमहरूको पहिचान गरी ज्ञान र सीप अभिवृद्धि गर्ने, अनुसन्धान र प्रविधि विकासका कार्यहरू पहिचान गर्न जोड दिइयो ।

सेमिनारमा जलवायु परिवर्तनलाई अनुकूलनसहित न्यूनीकरण गर्न सिओटू उत्सर्जन कम गर्न कार्बनको मूल्य निर्धारणसम्बन्धी विभिन्न नीति र उपायहरूको प्रस्तुतिकरण भयो । नेपालमा स्वदेशी रूपमा उत्पादित जलविद्युतसँग आयातित जीवाश्म इन्धनलाई प्रतिस्थापन गर्न कार्बन कर एक साधन हुनसक्ने विषयमा समेत छलफल र प्रस्तुतिकरण भएको थियो ।

सेमिनार गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान जिपास्ट र पोखरा यूनिभर्सिटी काउन्सिल अफ म्यानेजमेन्ट स्टुडेन्ट्स, स्कूल अफ बिजनेससँगको सहकार्यमा आयोजना भएको हो । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, सह–प्राध्यापक डा. नमराज धामीले कार्यक्रमको उपादेयता र महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति थियो ।