उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा पदभार ग्रहण

उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा पदभार ग्रहण

२०७७ असोज १८ गते आइतबार, पोखरा–३०, लेखनाथ, कास्की ।

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले आज एक समारोहबीच उपकुलपति पदको पदभार ग्रहण गर्नुभयो । पदस्थापनपछि विश्वविद्यालयद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उपकुलपति अर्यालले नीति र नियमभन्दा बाहिर गएर आफूले कुनै कार्य एवम् कदम नचाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूसँग विश्वविद्यालयको समस्या र अन्यौलता समाधानका बारेमा आफूले कुरा राख्दा उहाँले नीति नियममा रही निर्धक्क भएर अगाडि बढ्न सुझाउनु भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

जहाँ चुनौती छ त्यहाँ सम्भावना छ । जहाँ चुनौति छैन, त्यो जागिर खाने हुन्छ, तर म जागिर खान आएको होइन भन्दै उपकुलपति अर्यालले आफूलाई अब कसरी यो विश्वविद्यालय बनाउने, कसरी यसलाई व्यवस्थापन गर्ने भन्ने मुख्य चिन्ता रहेको उल्लेख गर्नुभयो । उपकुलपति अर्यालले भन्नुभयो– कुनै पनि पदाधिकारी आएर मेरो हातमा तिलस्मीको छडि छ, सब ठिक पार्छु भन्यो भने त्यो नबुझेको हुन्छ, तर म बुझ्छु मात्र र बुझेको पनि छु ।

उहाँले विश्वविद्यालय विद्यार्थीहरूको योग्यता मापन गर्ने थलो भएकोले एकवर्षदेखि ती कार्य बन्द हुनु विद्यार्थीका लागि ज्यादै पिडादायी क्षण रहेको उल्लेख गर्नुभयो । सोको लागि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन नहुने उल्लेख गर्दै उहाँले विश्वविद्यालयको हक, हित तथा विद्यार्थीहरूको भविष्य सुनिश्चताका लागि सबै व्यक्तिगत स्वार्थभन्दा माथि उठि कार्य गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि आफू चौबिसै घण्टा पोखरा विश्वविद्यालयको लागि समर्पित रहने उहाँले बताउनुभयो ।

कोभिडले धेरै विश्वविद्यालयहरूलाई समस्यामा पारेको र केही विश्वविद्यालयले सामाजिक दुरी कायम गरी परीक्षा लिएको सन्दर्भमा २१ औं शताब्दीको प्रविधि मैत्री वातावरण सिर्जना गरी हामीले पनि अनलाईन पठनपाठन र परीक्षामा सञ्चालनका लागि ढिलो गर्न नहुनेमा उहाँको जोड थियो ।

पोखरा विश्वविद्यालय छोटो समयमा राम्रो प्रतिष्ठा कायम गरेको र धेरै कार्यक्रम ल्याएर एउटा ख्याति कमाएको विश्वविद्यालय भएकोले यसको अझ बढी प्रबर्धन र उत्थानका लागि केही राहत कार्यक्रमहरू सञ्चालनमा ल्याउनु पर्नेमा समेत उपकुलपतिले जोड दिनभयो । यसका लागि मेडिकल कलेजको स्थापना, बिद्युत, कानुन र शिक्षामा पठनपाठनदेखि लिएर देशको यस सुन्दर क्षेत्रलाई पर्यटकीय अध्ययन केन्द्रको रूपमा विकास गर्न सकिने उहाँको भनाई थियो । यसका लागि सबैको सहयोग र योगदान चाहिन्छ, केही समस्या भए सम्वाद, सहमति र सहकार्यमा अगाडि बढ्न सकिन्छ, उपकुलपतिले भन्नुभयो ।

स्वागत कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष रघुनाथ अधिकारी, पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कूल अफ डेभलेपमेन्ट सोसल ईञ्जियिरिङ्गका स्कूल निर्देशक डा. रामप्रसाद अर्याल, पोखरा विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य सहप्राध्यापक हरिप्रसाद त्रिपाठी, पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष हेमराज पाण्डे तथा पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष शिवराज पण्डितले विश्वविद्यालयका समस्याका बारेमा आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन सहप्रशासक तारा सापकोटाले गर्नुभएको थियो ।