उपकुलपतिद्वारा अन्तर्राष्टिय अनुसन्धान केन्द्र तथा आवास गृह शिलान्यास !!!

उपकुलपतिद्वारा अन्तर्राष्टिय अनुसन्धान केन्द्र तथा आवास गृह शिलान्यास !!!

२०७८ असोज २२ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालय प्राङ्गणमा निर्माण हुन लागेको अत्याधुनिक अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृहको आज एक समारोहबीच शिलन्यास गर्नुभयो । समारोहका प्रमुख अतिथि तथा वैदिक कार्यका प्रमुखकर्ता उपकुलपति प्रा.डा. अर्यालले विहान ७ः३० बजेको शुभमुहर्त पारेर उक्त भवन शिलान्यास गर्नुभएको हो ।

शिलान्यासपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति अर्यालले विश्वविद्यालयलाई सबैले पवित्र स्थलको रूपमा विकास गर्नुपर्नेमा जोड दिंदै यसको विकास भएमा मात्र समाजको विकास हुने बताउनुभयो । उपकुलपतिले विश्वविद्यालयमा नयाँ नयाँ अनुसन्धान र परिवर्तनको अझ बढी खाँचो छ भन्दै यसको उत्थानका लागि ओपनले निर्माण गर्न लागेको अन्तर्राष्टिय अनुसन्धान केन्द्र तथा आवास गृहले विश्वविद्यालयलाई थप उचाईमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालय सबैको साझा संस्था भएकोले यसको विकासमा सबै एकै ठाउँ र समूहमा बसेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्बन्धनप्राप्त कलेजहरू विश्वविद्यालयको एउटै परिवार भएकोले ती कलेजहरूको साथ र सहयोग विश्वविद्यालयको विकास र विस्तारका लागि महत्वपूर्ण हुने बताउनुभयो । पोखरा विश्वविद्यालय स्थानीयबासीको सोचले निर्माण भएको उल्लेख गर्दै उहाँले स्थानीयबासीको शिक्षा, स्वास्थ्यमा विश्वविद्यालयले ध्यान दिने बताउनुभयो ।

विश्वविद्यालयको व्यवस्थापन संकाय डीन डा. दयाराज ढकालले ओपनको सहकार्यमा निर्माण हुन लागेको अनुसन्धान तथा आवास गृह विश्वविद्यालय परिवार र समाजको लागि एक उत्कृष्ट कार्य भएको र यसको निर्माण सहयोगमा सबैको एउटै भाव देखिएकोले समयमै सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै ओपनका अध्यक्ष एवम् नोबेल कलेजका संस्थापक/प्राचार्य नवराज पाण्डेले पोखरा विश्वविद्यालयको विकास भएमा स्वतः यस क्षेत्रको व्यापार, व्यवसाय, पर्यटन आदि फस्टाउने उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयको विकासमा स्थानीयबासी र यसका सरोकारवालाहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै सबैको भावना समेटी समयअनुसार विश्वविद्यालय परिवर्तन हुँदै जानुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालय सार्वजनिक निजी साझेदारी मोडेलमा अगाडि बढेमा मात्र यसले उचाई लिने उल्लेख गर्दै पाण्डेले यसैलाई मध्यनजर गर्दै ओपनले सानो एउटा इट्टा थप्ने कार्य मात्र गरेको बताउनुभयो ।

शिलान्यास कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अक्सफोर्ड कलेज अफ ईञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टका संस्थापक/प्राचार्य तथा भवन निर्माण समितिका संयोजक ई. हरि भण्डारीले पोखरा विश्वविद्यालयको उचाई नबढेसम्म सम्बन्धनप्राप्त कलेजहरूको पनि उचाई नबढ्ने भएकोले विश्वविद्यालयलाई अति आवश्यक ठानी भवन निर्माण गर्न लागेको जानकारी दिनुभयो । उहाँले अनुसन्धान र अन्तर्राष्टिय सम्बन्ध राम्रो भएमा मात्र विश्वविद्यालयले उचाई लिने बताउनुभयो । उहाँले विश्वविद्यालयमा अहिले राम्रो टिम रहेकोले अहिले विश्वविद्यालय नबने भविश्यमा कहिल्यै नबन्ने बताउनुभयो ।

लेखनाथ नगरपालिकाका पूर्व मेयर विष्णु पोखरेलले स्थानीयबासीले पोखरा विश्वविद्यालयको लागि छुट्टाइएको २७४० रोपनी जग्गाका लागि पञ्चायती कालमा २ करोड जुटाएको स्मरण गराउँदै उहाँले त्यसरी जुटाएको जमिन विश्वविद्यालयले संरक्षण र सम्बर्धन गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले स्थानीयबासी र यसक्षेत्रका आम नागरिकले धेरै दुःखका साथ पोखरा विश्वविद्यालय जन्माएको हो भन्दै यसले जन चाहना अनुसार अपेक्षित गति लिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । पोखरेलले सुकुम्बासी लगायत नदी कटानबाट जग्गाको संरक्षण गर्न विश्वविद्यालय आफै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस भेकका लागि एउटा अस्पताल निकै खाँचो रहेको उल्लेख गर्दै जति सक्दो चाँडो विश्वविद्यालयले एउटा अस्पताल निर्माण गरेमा यस भेकका जनता विजयपुर कटेर पोखरा उपचार गर्न जानु नपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन कामु उपप्रशासक रोशन पाण्डेले गर्नु भएको थियो ।

अंग्रेजीमा “ओपन इन्टरनेशनल रिसर्च सेन्टर एण्ड गेष्ट हाउस” नामाकरण दिइएको उक्त भवन पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ, नेपाल (ओपन) ले पोखरा विश्वविद्यालय २५ औं वर्ष पुगेको उपलक्ष्यमा मनाउन गइरहेको रजतजयन्तीको अवसरमा पोखरा विश्वविद्यालयसँग सहकार्य गरी निर्माण गर्न लागेको हो ।

करिब १२ करोडको लगानीमा निर्माण हुने उक्त भवन विश्वविद्यालयको प्राङ्गण लेखनाथमा अवस्थित ११४ रोपनी प्लटको डि ब्लकमा निर्माण हुनेछ । करिब चारहजार वर्गफिट प्रतितलाका दरले सम्पूर्ण पूर्वाधारसहित चारतले भवन निर्माण सम्पन्न गरी दुई वर्षभित्र पोखरा विश्वविद्यालयलाई पूर्णरूपमा हस्तान्तरण गर्ने कार्य योजना छ । भवनमा सबै गरेर सुविधा सम्पन्न ३३ ओटा कोठा, हलहरू छन् ।

अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृहमा रहने कोठा तथा हलहरूः

भूई तलामा एउटा रिसेप्सन हल, एउटा प्रतिक्षालय, दुईओटा प्रशासकीय कक्ष, दुईओटा डाईनिङ्ग हल, भण्डार कोठासहितको एउटा भान्छाकोठा गरी जम्मा ८ ओटा कोठाहरू हुनेछन् । पहिलो तलामा दुईओटा प्रतिक्षालय, दुई ओटा डबल गेष्ट रूम, चार ओटा डिलक्स गेष्ट रूम र एउटा फेमिली गेष्ट रूम गरी जम्मा ९ ओटा कोठा हुनेछन् । दोस्रो तलामा एउटा रिसेप्सन हल, एउटा प्रतिक्षालय, एउटा इन्टरनेशनल रिलेशन अफिस, दुईओटा डिलक्स गेष्ट रूम, एउटा फेमिली डिलक्स गेष्ट रूम, ठूलो साइजको एउटा प्रिजेनटेशन हल गरी जम्मा ८ ओटा कोठा हुनेछन् । तेस्रो तलामा एउटा प्रतिक्षालय, एउटा भिआईपि प्रिजेनटेशन हल, दुई ओटा सानो साइजको मुख्य प्रिजेनटेशन हल र एउटा अतिरिक्त ठूलो साइजको मुख्य प्रिजेनटेशन हल गरी जम्मा ५ ओटा कोठाहरू हुनेछन् । चारतलामा एउटा स्टोर रूम र दुई ओटा खुला टेरेस निर्माण गरिने छ ।

पोखरा विश्वविद्यालयको समग्र उन्नयन एवम् शैक्षिक तथा अनुसन्धानात्मक वातावरणलाई विश्वस्तरीय बनाई विश्वविद्यालयको छवि उच्च बनाउने उद्देश्यस्वरूप विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ५८ ओटा कलेजहरूले अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र तथा आवास गृह निर्माण गर्न लागेका हुन ।

पोखरा विश्वविद्यालय नेपालकै उत्कृष्ट विश्वविद्यालयको बाटोमा लम्किरहेको अवस्थामा यसलाई विश्वविद्यालयसँग सम्बन्धित सम्पूर्ण निकायहरूबीच सकारात्मक रूपबाट सहकार्य गर्ने आवश्यकतालाई मध्यनजर गर्दै ओपनले पोखरा विश्वविद्यालयको प्राज्ञिक महत्वलाई उचो राख्न तथा विश्वविद्यालयको वृत्तिविकासमा सहकार्य गर्न भवन लगायतका सम्पूर्ण पूर्वाधार तयार गरी हस्तान्तरण गर्ने बताएको छ । पोखरा विश्वविद्यालयले यसलाई सकारात्मक कदम भन्दै उच्च सम्मान गरेको छ ।

कार्यक्रमका तस्विरहरू