उद्यमशीलता विकासमा नयाँ शैक्षिक कार्यक्रम शुभारम्भ !!!

उद्यमशीलता विकासमा नयाँ शैक्षिक कार्यक्रम शुभारम्भ !!!

२०७७ फागुन २१ गते शुक्रबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालयले ४ वर्षे स्तानतकतहमा उद्यमशीलता विकाससम्बन्धी नेपालमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको छ । बेचलर अफ इन्ट्रिप्रिन्यूरशीप डेभलपमेन्ट प्रोगाम (बेड) नाम दिइएको उक्त कार्यक्रमलाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पोखरा विश्वविद्यालयले संयुक्त रूपमा सञ्चालन गर्ने भएका छन् । युवालाई उद्यमशील बनाई आत्मनिर्भर तुल्याउने एवम् युवालाई नेतृत्व विकास र सामाजिक रूपान्तरणको अभियन्ता बनाउने प्रमुख लक्ष्यका साथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पोखरा विश्वविद्यायले लेकसाइड, पोखरामा एक संयुक्त समारोहको आयोजना गरी सो कार्यक्रमको औपचारिक शुभारम्भ भएको जानकारी दिएका छन् ।

कार्यक्रमका अध्यक्ष एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले युवा उद्यमी भए वेरोजगारी हट्ने र उनीहरू स्वदेशमै रही देशलाई समृद्ध बनाउन सक्ने भएकोले उद्यमशीलता विकास कार्यक्रमले युवाको व्यक्तित्व विकासमा सहयोग गर्ने बताउनुभयो । उपकुलपतिले कार्यक्रमको विस्तार र विकासमा उद्योग मन्त्रालयले पूर्ण रूपमा विश्वविद्यालयललाई सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम् उद्यमशीलता विकास र प्रबर्धनमा भारतको पहिलो विश्वविद्यालय स्वर्निम विश्वविद्यालय, गुजरातका भाइस प्रेसिडेन्ट आदि रिसभ जैनले उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमको उ्रत्थानका लागि विश्वविद्यालयलाई हरतरहले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव (प्रवक्ता) डा. नारायण प्रसाद रेग्मी, अन्तर्राष्ट्रिय श्रम संगठन कन्ट्री अफिस नेपालका स्कील्स फर इम्प्रुभमेन्ट प्रोजेक्ट्सका नेशनल प्रोग्राम कोर्डिनेटर श्री प्रकाश शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका डेपुटि डाइरेक्टर जनरल श्री गोकर्ण अवस्थिले उद्यमशीलता विकास कार्यक्रमको प्रबर्धनका लागि हातेमालो गर्दै अगाडि बढउने प्रतिबद्धता जाहेर गर्नुभयो । मानविकी तथा सामाजिकशास्त्र संकाय डीन सहप्राध्यापक डा. अजय थापाले कार्यक्रमको उपादेयता र महत्वका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमको औपचारिक शुभारम्भ समारोहमा सम्बद्ध व्यक्तित्व, उद्यमी, कलेज, विद्यालय, सञ्चार माध्यमहरूका प्रमुख एवम् प्रतिनिधि लगायत पोखरा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।