अस्पताल निर्माण अन्तिम चरणमा, वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

अस्पताल निर्माण अन्तिम चरणमा
वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

२०७९ साल वैशाख १५ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा विश्वविद्यालयले पोखरा–३०, खुदी, ढुंगेपाटनमा आफ्नो १०० शैयाको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आईई) अध्ययन प्रतिवेदन तयार गर्ने सम्बन्धमा आज सम्झौता गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रा.लि., ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता सम्पन्न भएको हो ।

यो वातावरणीय परिक्षणले अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्न सक्ने सम्भावित वातावरणीय प्रभाव चाहे त्यो सकारात्मक वा प्रतिकूल होस्, त्यसको पहिचान, सम्भावना र विश्लेषण गर्नेछ । प्रतिकूल प्रभावहरूलाई न्यूनिकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रीत हुनेछ । यस कार्यले परियोजना वा अस्पताल क्षेत्र र यसको वरपरका समुदायहरूलाई पर्यावरणीय स्रोतहरू, सामाजिक–आर्थिक र स्वास्थ्य लाभहरूमा सुधार पहुँच गर्न समेत मद्दत पुग्नेछ । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चारमहिनाभित्र पुरा गर्नुपर्नेछ ।

पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा वृहत योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकोले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको छ । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शैयाको अस्पतालको रूपमा प्रयोग गर्ने योजना स्वरूप विश्वविद्यालयले बोलपत्र समेत आव्हान गरिसकेको छ ।