लगभग १ अर्बको बजेट पारित गर्दै २० औं सभा सम्पन्न

२०७६ असार १७ गते मंगलबार । पोखरा विश्वविद्यालयको २० औं साधारण सभाको बैठक ९९ करोड ५० लाख ९० हजारको बजेट पारित गर्दै प्रधानमन्त्रीको नीजि सचिवालय, बालुवाटार, काठमाडौंमा सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीको अध्यक्षता एवम् माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको समुपस्थितिमा सम्पन्न उक्त सभाले आ.व. २०७६÷७७ का लागि पूँजीगत खर्चतर्फ रू. ३० करोड ९८ लाख ४७ हजार र साधारण खर्चतर्फ रू.६८ करोड ५३ लाख ४३ हजारको बजेट स्वीकृत गर्दै पारित गरेको हो ।

विश्वविद्यालयको २० औंं सभालाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा ओलीले विश्वविद्यालयहरू परम्परागत शिक्षा पद्धति र विचारलाई आत्मसात गर्दै अगाडि बढेकाले देश पछाडि परेको बताउनु भएको छ । शिक्षालाई उत्पादनसित, प्रविधि, काम र व्यवहारसित नजोडेका कारण दक्ष र सिपयुक्त जनशक्ति हामीसँग नभएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । उहाँले सही किसिमले जनशक्ति प्रक्षेपणको नीति विश्वविद्यालयले नलिएका कारण बीच बाटोमै हामी अलमलिएको र युवा शिक्षित भएर पनि बेरोजगार र सस्तो श्रमशक्तिका रुपमा विदेश पलायन हुँदै गएको प्रति दुःख व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले हाम्रो ज्ञान र शास्त्रको परम्परा, लय, छन्द, ताल र सुरलाई लिपिबद्ध गर्न नसकेकाले शिक्षामा सुधार गर्न नसकिएको उल्लेख गर्नुभयो । एक हजार वर्ष पहिला स्थापित विश्वका सबैभन्दा पुराना तक्षशिला र नालान्दा विश्वविद्यालय र ६० वर्ष पुराना हाम्रा विश्वविद्यालयको दुरीलाई हामीले सहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले हाम्रो भू—भाग पछाडि परेको नभई हाम्रो शिक्षा आयातित, कपि गरेको र लेखपढ गर्ने पद्धतिमा आधारित रहेकाले हामी पछाडि परेको बताउनुभयो । देशको आवश्यकता अनुसार शिक्षालाई डो¥याउनुपर्ने, निर्देशित गर्नुपर्ने उल्लेख गर्दै अन्धाधुन्द र नाफा कमाउने किसिमले शिक्षाको स्वीकृति र सम्बन्धन दिन विश्वविद्यालय कठोर हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

शिक्षामन्त्री तथा पोखरा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालय भनेका जनशक्ति उत्पादन गर्ने केन्द्र भएकाले यसले उच्च दक्षता र सिप भएको तथा उच्चतम दक्षता र सिप भएको जनशक्तिको रुपमा प्रक्षेपण गरी योजनाबद्ध ढंगले जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि माग र आपूर्तिसँग जोडेर शिक्षा नीति अगाडि बढ्नुपर्ने उहाँको विचार थियो ।

पोखरा विश्वविद्यालय उपकुलपति प्रा. चिरञ्जीवी प्रसाद शर्माले स्वागत, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने रजिष्टार गोविन्दप्रसाद शर्माले विश्वविद्यालयको वार्षिक कार्यक्र र बजेट प्रस्तुत गर्नुभएको थियो ।