राम्रो क्लिनिकल प्रयोगशाला अभ्यासहरूमा कार्यशाला

२०७६ असोज ९ गते बिहीबार, पोखरा । पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजको आयोजना र अमेरिकन सोसाइटि फर माइक्रोबायोलोजीको आर्थिक सहयोगमा ” Good Clinical Laboratory Practices” (राम्रो क्लिनिकल प्रयोगशाला अभ्यासहरू) मा २ दिने कार्यशाला पोखरामा शुरू भएको छ । यो कार्यशाला नेपालमा नै पहिलो पटक सञ्चालन हुन लागेको हो । अस्वस्थ्य खानेकुरा, तनाव, दुर्घटना, विभिन्न जैविक तथा परजैविक संक्रमणका कारण दिनानुदिन बढ्दै गएको रोग रोगीको उपचार पद्धतिलाई जाँच्ने एकमात्र माध्यम क्लिनिकल प्रयोगशाला भएको र यसलाई कसरी आधुनिकीकरण र बैज्ञानिकरण बनाउन सकिन्छ भन्नेमा कार्यशालाले निचोड दिनेछ ।

भोलिसम्म चल्ने कार्यशालालाई कार्यशालाका प्रमुख अतिथि एवम् पोखरा एकाडेमि अफ हेल्थ साइन्सेजका डीन प्रा. डा. नरेन्द्रविक्रम गुरूङ्ले उद्घाटन गर्नुभएको थियो । कार्यशालाका संयोजक एवम् स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका उपप्राध्यापक सुरेश जैसवालको सभापतित्वमा सञ्चालन भएको उद्घाटनसत्रलाई स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयका निर्देशक सहप्राध्यापक डा. डमरू प्रसाद पनेरू; डा. शिशिर गोखले, प्रोफेसर बेसिक साइन्स डाइरेक्टर मनिपाल एवम् कन्ट्रि एम्बासडर, अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी; डा. दयाराम पोखरेल, प्रोफेसर, एचओडि बायोकेमेष्ट्री, मनिपाल; डा. प्रमोद रिजाल, सहप्राध्यापक एवम् परीक्षा नियन्त्रक, काठमाडौं विश्वविद्यालय; डा. अमर नागिला, सहप्राध्यापक, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालय तथा पुष्पराज खनाल, एनएचपिसि विषय समिति सदस्यले कार्यशालाको औचित्य र महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । रोगको पहिचान र उपचार पद्धतिमा प्रयोगशाला रिपोर्ट महत्वपूर्ण रहने हुँदा प्रयोगशालालाई विश्वसनियता र भरपर्दो बनाउनुपर्नेमा सबैको जोड थियो । उहाँहरूले क्लिनिकल प्रयोगशालाको जनशक्ति तथा उपकरण व्यवस्थापन मोड्यूल, क्वालिटि कन्ट्रोल, वेस्ट म्यानेजमेन्ट, अपरेटिङ्ग प्रोस्यूडरका बारेमा कार्यशालाको विभिन्न सेशनमा प्रस्तुतिकरण समेत गर्नुहुनेछ ।


कार्यशालामा स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजअन्तर्गतका विभिन्न विषयका कार्यक्रम संयोजकहरू, प्राध्यापकहरू, विद्यार्थी, कर्मचारी लगायत प्रयोगशाला विज्ञानसँग सम्बन्धित पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयका ५० जनाभन्दा बढी प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उपप्राध्यापक सन्तोष गुप्ताले गर्नुभएको थियो ।