पोखरा विश्वविद्यालय मानविकी संकाय र एनजिओ फेडेरेशन नेपाल कास्की विच सम्झौता

पोखरा विश्वविद्यालय मानविकी संकाय र एनजिओ फेडेरेशन नेपाल कास्की विच विद्यार्थिहरुको प्रयोगात्मक अभ्यास तथा सिप आदान प्रदान लगायतका विषयमा पाँच वर्षे सम्झौता मंगलबार सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालयको तर्फबाट मानवशास्त्र तथा सामाजिक संकायका डिन प्रा. डा. ईन्द्र प्रसाद तिवारी र एनजिओ फेडेरेशन नेपाल कास्कीका अध्यक्ष पदमराज पहारीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता पत्रमा उक्त संकायका विद्यार्थिहरुलाई सामाजिक अनुसन्धान, तालिम, वर्कसप, सेमिनार, गोष्ठीमा सहभागि गराउनका लागि सहकार्य तथा विद्यार्थिहरुलाई एनजिओ फेडेरेशनमा आवद्ध एनजिओहरुमा ईन्र्टनसिपको समेत व्यवस्था हुने उल्लेख गरिएको छ ।

मानविकि संकायका दुई कार्यक्रम ‘बि डेभ्स’ तथा ‘बेक्स’का नवआगन्तुक विद्यार्थिहरुलाई अभिमुखीकरणको सन्र्दभमा उक्त सम्झौता गरिएको कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मानविकी संकायका डिन प्रा. डा. तिवारीले उक्त सम्झौता मार्फत विद्यार्थिहरुलाई पढाईसँगै प्रयोगात्मक सिप, ज्ञान आर्जन गर्नुका साथै अनुभव बटुल्न मद्धत गर्ने बताए ।

यस्तै एनजिओ फेडेरेशन नेपाल कास्कीका अध्यक्ष पहारीले विद्यार्थिलाई प्रयोगात्मक ज्ञान सहित भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त संकायका सह प्राध्यापक डा. अजय थापाले ‘बि डेभ्स’ तथा ‘बेक्स’ कार्यक्रमबारे नवआगन्तुक विद्यार्थिहरुलाई जानकारी गराएका थिए भने हेमन्तराज कँडेलले पुस्तकालयका नियमहरु, पुष्पा पौडेलले परिक्षाको मुल्याङ्कन बारे विद्यार्थिहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले स्वागत गरेको उक्त अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रम निर्देशक डा. रामप्रसाद अर्यालले गरेका थिए भने कार्यक्रम सञ्चालन उप-प्राध्यापक भरतराज ढकालले गरेका थिए ।