२०८२ असार ११ गते बुधबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC), काठमाडौंको सहकार्यमा “Ethics in Health Research and Standard Operation Procedures (SOPs)” विषयक एकदिने प्रशिक्षण कार्यशाला हिजो मंगलबार सम्पन्न भएको छ । विश्वविद्यालयको केन्द्रीय सभाकक्षमा सञ्चालन गरिएको उक्त कार्यशालाको मुख्य उद्देश्य स्वास्थ्य अनुसन्धानसम्बन्धी नियम, निर्देशिका, नीति तथा नैतिकताको विषयमा पोखरा विश्वविद्यालयको Institutional Review Committee (IRC) का नयाँ र पुराना सदस्यहरूलाई जानकारी गराउनुका साथै कार्यविधिहरू अद्यावधिक गर्नु रहेको थियो । यस अवसरमा पोखरा विश्वविद्यालय IRC का गतिविधि तथा SOP अद्यावधिकसम्बन्धी प्रस्तुति समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य विज्ञान संकायका डीन प्रा.डा. विष्णुराज तिवारी, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, पोखरा विश्वविद्यालय IRC का अध्यक्ष डा. सुरेश जैसवाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख (सदस्य सचिव) डा. प्रमोद जोशीले स्वागत मन्तव्य राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीले परिषद्को भूमिका र कार्यहरूको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का IRC एक्रिडिएशन उपसमितिका संयोजक डा. हरिप्रसाद ढकालले “Guidelines for Institutional Review Committees (IRCs)” सम्बन्धी प्रस्तुति दिनु भएको थियो भने परिषद् अन्तर्गत ईथिकल रिभ्यू अनुगमन तथा मूल्याङ्कन शाखाकी नमिता घिमिरेले “National Ethical Guidelines for Health Research in Nepal 2022” का मुख्य अंशहरू प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा पोखरा विश्वविद्यालय र परिषद्का विशेषज्ञहरू, IRC सदस्यहरू तथा विभिन्न संकायका प्राध्यापकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उप–प्रा. चिरञ्जीवी अधिकारीले गर्नुभएको थियो ।