कोरियन भाषा शिक्षामा कक्षा सञ्चालन

पोखरा विश्वविद्यालयमा (२०७४ माघ २६ गते शुक्रबारका दिन) कोरियन भाषा शिक्षामा कक्षा सञ्चालनको समुद्घाटन गरिएको छ । कोरिया अन्तर्राष्टिय सहयोग एजेन्सी (कोइका) र पोखरा विश्वविद्यालयबीच कार्यसहमति भई सञ्चालन भएको उक्त समुद्घाटन समारोहको सभापतित्व व्यवस्थापन संकाय, पोखरा विश्वविद्यालयका डीन प्रा. हरिबहादुर खड्का, प्रमुख आतिथ्यता कोइकाका कन्ट्रि डाइरेक्टर ह्यङ क्यू किमले गर्नुभएको थियो । कार्यक्रमको उपादेयताका बारेमा कोइकाका कन्ट्रि डाइरेक्टर ह्यङ क्यू किम र अन्तर्राष्टिय केन्द्र पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशक टेकबहादुर क्षेत्रीले प्रकाश पार्नुभएको थियो ।

नन् क्रेडिट तथा नन डिग्रीको रूपमा भाषा शिक्षामा प्रमाणपत्र लिने उद्देश्यकासाथ गत नोभेम्बर २०१६ देखि ३० जना विद्यार्थीहरूले कोरियन भाषा शिक्षामा कक्षा लिइरहेका छन् । नेपाल सरकार शिक्षा र अर्थमन्त्रालयबाट स्वीकृती लिई कोरियन स्वय्सेवकहरूले कक्षा दिइरहेका छन् । कोरियामा अध्ययन अध्यापन गर्न चाहने शिक्षक तथा विद्यार्थीहरूका लागि कोरियन भाषा शिक्षा निकै प्रभावकारी र फलदायी हुने अपेक्षा गरिएको छ ।

उक्त समुद्घाटन समारोहमा पोखरा विश्वविद्यालयका विभिन्न पदाधिकारीहरू, कोइकाका म्यानेजर सङ् सक चोइ तथा विद्यार्थीहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन उपप्राध्यापक अतिस कौडिन्नाययनले गर्नुभएको थियो ।