सायबर सुरक्षा जनचेतना अभिवृद्धिका लागि सेमिनार सम्पन्न

28/05/2025

२०८२ जेठ १४ गते, बुधबार, पोखरा–३०, कास्की — पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा “Cybersecurity Awareness Program” शीर्षकमा एक दिवसीय सेमिनार आज विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सभा हलमा सम्पन्न भएको छ।

इरास्मस+ कार्यक्रमअन्तर्गत सञ्चालित “Cybersecurity for All (CS4ALL)” परियोजनाको एक अङ्गका रूपमा आयोजित उक्त सेमिनारमा विश्वविद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा CS4ALL Student Club मा आबद्ध विद्यार्थीसहित १०० जनाभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। । 

कार्यक्रममा सह–प्रा. डा. नमराज धामी, सह–प्रा. डा. दीपाञ्जल श्रेष्ठ, उप–प्राध्यापक डा. उदयराज ढुंगाना र उप–प्राध्यापक ई. भेष बहादुर थापाले सायबर सुरक्षा र विश्वविद्यालयमा यसको प्रयोग तथा महत्वका विषयमा प्रस्तुति दिनुभएको थियो। उहाँहरुले डिजिटल युगमा सायबर जोखिम, चुनौतीहरू र तिनका समाधानका उपायहरूबारे सहभागीहरूलाई जानकारी गराउनुका साथै व्यावहारिक सन्दर्भमा सायबर सुरक्षाको आवश्यकता औँल्याउनुभएको थियो।

पोखरा विश्वविद्यालय अन्तर्गत सञ्चालित CS4ALL परियोजनामा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा. डा. नमराज धामी परियोजनाका प्रोजेक्ट म्यानेजरको भूमिकामा रहनुभएको छ। प्रोजेक्ट टिममा सह–प्रा. डा. मधुसुधन कायस्थ, सह–प्राध्यापक ई. बुद्धिराज जोशी, सह–प्रा. डा. दीपाञ्जल श्रेष्ठ,  उप–प्रा. डा. उदयराज ढुंगाना, उप–प्राध्यापक भेष बहादुर थापा, सह–प्रशासक तेजनारायण पराजुली, सहायक प्रशासक चनमति तामाङ, सहायक प्रशासक सरला भट्ट र ई. सन्दीप अधिकारी सदस्यका रूपमा आवद्ध हुनुहुन्छ।

उक्त परियोजनाको उद्देश्य विश्वविद्यालय समुदायमा सायबर जोखिमबारे चेतना अभिवृद्धि गर्नुका साथै डिजिटल सुरक्षालाई संस्थागत रूपमा सुदृढ बनाउनु हो। परियोजनाअन्तर्गत उच्च शिक्षा संस्थानहरूमा सायबर सुरक्षासम्बन्धी पाठ्यक्रम विकास, आईटी कक्षहरूको आधुनिकीकरण, वयस्क सिकाइका लागि Micro-credentials कार्यक्रम सञ्चालन तथा नागरिक समाजमा सायबर सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिंदै आएका छन्। नेपाल, भारत र इन्डोनेसिया सहभागी देशका रूपमा CS4ALL परियोजनामा आबद्ध छन्।

परियोजनामा भारतको लभली प्रोफेसनल विश्वविद्यालय (Lovely Professional University) प्रमुख संयोजकको रूपमा रहेको छ भने नेपालबाट पोखरा विश्वविद्यालय, दीर्घायु नेपाल, एक्सनएड नेपाल र सुदूरपश्चिम विश्वविद्यालय सहभागी छन्।  CS4ALL परियोजना नेपाल, भारत र इन्डोनेसियामा सायबर सुरक्षासम्बन्धी ज्ञान, सीप र उपकरणहरू उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको हो। परियोजनाले कुल ३२ शिक्षक र १६० जना विद्यार्थीलाई प्रशिक्षण दिने, ८ वटा उच्चशिक्षा संस्थामा नयाँ वा अद्यावधिक पाठ्यक्रम समावेश गर्ने, २४० जना वयस्क तथा सरकारी/निजी क्षेत्रका कर्मचारीहरूलाई दीर्घकालीन सायबर सुरक्षा शिक्षा प्रदान गर्ने लगायतका लक्ष्य राखेको छ। सन् २०२३ जुलाई १ देखि सञ्चालनमा आएको उक्त परियोजना २०२६ जुन ३० सम्म चल्ने छ । परियोजनाले कुल ७,९९,९९९ युरोको आर्थिक सहयोग प्राप्त गरेको छ।