२०८२ साल वैशाख १५ गते, सोमबार, पोखरा–३०, कास्की ।
सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले सह–प्रा.डा. अजय थापालाई पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गर्नुभएको छ। पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २६ को उपदफा (२) बमोजिम उपकुलपति प्रा.डा. बेदराज के.सी. को सिफारिसमा उहाँलाई हिजो आइतबार आगामी चार वर्षका लागि रजिष्ट्रार पदमा नियुक्त गरिएको हो।
थापा हाल पोखरा विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डीन हुनुहुन्छ। उहाँ साढे दुई दशकभन्दा बढी समयदेखि विश्वविद्यालयमा आबद्ध हुनुहुन्छ। प्रारम्भमा कर्मचारीको रूपमा सेवा प्रवेश गर्नुभएका थापा पछि उप–प्राध्यापक र सह–प्राध्यापक हुँदै विश्वविद्यालयको सभासद्, कार्यकारी परिषद् सदस्य तथा प्राज्ञिक परिषद् सदस्यजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै विश्वविद्यालय प्रशासन र शैक्षिक नेतृत्वको क्षेत्रमा महत्वपूर्ण अनुभव आर्जन गरिसक्नुभएको छ।
सह–प्रा.डा. थापा विश्वविद्यालयका छैठौं रजिष्ट्रार हुनुहुन्छ। यसअघि रजिष्ट्रार रहनुभएका प्रा.डा. दिपकबहादुर भण्डारीको ४ वर्षे कार्यकाल यही वैशाख ४ गते सकिएको थियो ।
रजिष्टार पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दछौं ।