२०८२ असार ६, पोखरा
पोखरा विश्वविद्यालयको स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङ (SDSE) अन्तर्गत सञ्चालित Bachelor of Entrepreneurship Development (BED) कार्यक्रमका चार छात्राले अध्ययनकै क्रममा सुरु गरेको “चिया चपाउ” नामक रचनात्मक स्टार्टअप अहिले पोखराको पृथ्वीनारायण क्याम्पस गेटमा धेरैको आकर्षणको केन्द्र बनेको छ।
स्तुति थापा, मञ्जु तिवारी, यनिका भट्टराई र नम्रता पौडेल BED को आठौं सेमेस्टरमा छन्। उनीहरूले सातौं सेमेस्टरमा चिया व्यवसायसम्बन्धी अनुसन्धान गरेर, त्यसकै प्रयोगात्मक अभ्यासस्वरूप खान मिल्ने इडिबल कपमा चिया बेच्ने फरक र वातावरणमैत्री व्यवसाय सुरु गरेका हुन्। भाइरल टिकटक भिडियोपछि चर्चामा आएको “चिया चपाउ” दैनिक सयौं ग्राहकलाई मीठो स्वाद र नयाँ अनुभव दिइरहेको छ।
देशबाट विदेश पलायनको लहर चुलिएको यो परिवेशमा विद्यार्थी अवस्थामै आफ्नै व्यवसाय सुरु गर्ने आँट र सक्रियता आजको शिक्षाले कसरी व्यवहारमा रुप लिन सक्छ भन्ने उदाहरण बनेको छ। चिया मात्रै नभई उद्यमशील सोच, अध्ययनलाई व्यवहारमा उतार्ने सीप र आत्मनिर्भर बन्ने दृष्टिकोणको स्वाद पनि “चिया चपाउ” मा मिसिएको छ।
पोखरा विश्वविद्यालयले २०७७ फागुन २१ गते सुरु गरेको BED कार्यक्रम नेपालको शैक्षिक इतिहासमै उद्यमशीलता विकासमा केन्द्रित स्नातक तहको पहिलो कार्यक्रम हो, जुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विश्वविद्यालयको सहकार्यमा सञ्चालित छ। यस कार्यक्रमले युवालाई केवल जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने क्षमता विकासमा जोड दिएको छ।