२०८२ जेठ १ गते, बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) द्वारा “PURC Seminar Series” अन्तर्गतको १८ औं श्रृंखला आज सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN) का कार्यकारी निर्देशक डा. राजन पराजुली प्रमुख वक्ताको रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयको सेमिनार हलमा आयोजित उक्त कार्यक्रममा “Role of Research and Education Networks (RENs) in Strengthening Research Ecosystems in Universities” विषयमा प्रस्तुति दिँदै विश्वविद्यालयमा अनुसन्धानको वातावरण मजबुत बनाउन रिसर्च एण्ड एजुकेशन नेटवर्क (NREN) को भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।
डा. पराजुलीले थाइल्यान्डको Asian Institute of Technology बाट Gender and Development Studies मा पीएचडी प्राप्त गर्नुभएको हो। उहाँ टेलिमेडिसिन सोसाइटी अफ नेपालका बोर्ड सदस्यसमेत हुनुहुन्छ। उहाँको शोध रुचि ग्रामीण भेगमा टेलिमेडिसिनको प्रयोग तथा त्यसमा लिङ्गका आयामहरू, अनुसन्धान तथा शिक्षा सञ्जाल, सूचना प्रविधि र इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित विषयहरूमा केन्द्रित छ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) ले PURC Seminar Series मार्फत विद्यार्थी, शोधार्थी, प्राध्यापक तथा अनुसन्धानमा रुचि राख्ने व्यक्तिहरूलाई अनुसन्धान क्षेत्रमा सक्रिय र सक्षम बनाउन शैक्षिक छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ । झण्डै ६० जना सहभागी रहेको उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका आंगिक महाविद्यालयहरूका विद्यार्थी, पदाधिकारी, प्राध्यापक तथा विभिन्न निकायका कर्मचारीहरूको उपस्थिति रहेको थियो।