२०८२ वैशाख २७ गते शनिबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन नतिजा हेर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ। अबदेखि विश्वविद्यालयका सबै संकाय तथा कार्यक्रमका विद्यार्थीहरूले अनलाइनमार्फत परीक्षा नतिजा तथा ग्रेडसिट सजिलै हेर्न र प्रिन्ट गर्न सक्नेछन्। नयाँ प्रणालीमार्फत विद्यार्थीले https://exam.pu.edu.np:9094/ मा गएर आफ्नो यूनिक आईडी वा अन्य आवश्यक विवरण प्रविष्ट गरी नतिजा प्राप्त गर्न सक्नेछन्।
परीक्षा प्रणालीलाई क्रमिक रूपमा डिजिटल बनाउँदै लैजानु पोखरा विश्वविद्यालयको दीर्घकालीन योजनाअन्तर्गतको यो एक महत्वपूर्ण कदम हो। यस डिजिटल सेवाले परीक्षा सम्बन्धी जानकारी लिनको लागि विद्यार्थीहरूलाई परीक्षा शाखामा जानुपर्ने झन्झट हटाउँदै, परीक्षासम्बन्धी सेवा छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।