२०८२ जेठ २१ गते, बुधबार, पोखरा–३०, कास्की।
मिति २०८२ जेठ २० गते बसेको पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले हालसालै रिक्त भएका विभिन्न संकायका डीन तथा परीक्षा नियन्त्रकको नियुक्ति गरेको छ। कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका प्रा.डा. विष्णुराज तिवारीलाई स्वास्थ्य विज्ञान संकायको डीन, पोखरा विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका सह–प्रा. ई. बुद्धिराज जोशीलाई विज्ञान तथा प्रविधि संकायको डीन, र पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका उप–प्रा.डा. सुरेन्द्र तिवारीलाई मानविकी तथा सामाजिक शास्त्र संकायको डीन पदमा चार वर्षका लागि नियुक्त गरिएको छ। त्यसैगरी, सोही बैठकको निर्णयअनुसार पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उप–प्रा. राजु पाण्डेयलाई पोखरा विश्वविद्यालय पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०५५ को नियम १५ (३) बमोजिम परीक्षा नियन्त्रक पदमा चार वर्षका लागि नियुक्त गरिएको छ। नवनियुक्त पदाधिकारीहरुलाई पोखरा विश्वविद्यालयको उपकुलपति कार्यालयमा आज आयोजित विशेष समारोहबीच उपकुलपति प्रा.डा. बेदराज के.सी.ले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
नवनियुक्त पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँहरूको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।