२०८२ जेठ २९ गते, पोखरा–३०, कास्की
नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय इन्क्युबेसन केन्द्रद्वारा आयोजित चार दिने ‘व्यवसाय इनक्युबेसन कार्यशाला’ सुरु भएको छ। कार्यक्रमको उद्घाटन विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा. बुद्धिराज जोशी र स्कूल अफ इन्जिनियरिङका स्कूल निर्देशक डा. ओमप्रकाश गिरिले संयुक्त रुपमा कार्यशालाको पोस्टरमा हस्ताक्षर गरेर गर्नुभयो।
कार्यशालामा आफ्नो मन्तव्य दिँदै विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा. बुद्धिराज जोशीले विद्यार्थीका नविनतम विचारलाई व्यवहारमा रूपान्तरण गर्ने प्रयासमा विश्वविद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। स्कूल अफ इन्जिनियरिङका सह–प्रा. डा. दीपाञ्जल श्रेष्ठले कार्यशालाको उद्देश्यबारे जानकारी दिँदै समस्या पहिचानदेखि दीगो व्यवसाय निर्माणसम्म आवश्यक संरचना, सीप र मार्गदर्शन प्रदान गरिने बताउनु भयो । कार्यशालामा करिब ८० जना विद्यार्थी सहभागी छन्। अन्तिम दिन १५ जुनमा आयोजना हुने ‘आइडिया पिचिङ’ प्रतिस्पर्धाबाट उत्कृष्ट टोलीले बीउ पुँजीसहित इनक्युबेसन सुविधा प्राप्त गर्नेछ।
प्रारम्भिक सत्रमा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका स्कूल निर्देशक सह–प्रा. डा. श्रृजन ज्ञवाली, इन्जिनियर रवि भण्डारी, किरण कुमार कुँवर र कुलदीप पौडेलले डिजाइन थिङ्किङ, बजार अनुसन्धान र लिन क्यानभास आधारित व्यवसायिक मोडल निर्माणबारे प्रशिक्षण दिनुभयो। दोस्रो दिन रामप्रसाद तिवारीले एमभीपी रोडम्याप तयार पार्ने कार्यशाला सञ्चालन गर्नुभयो। टोलीहरूलाई १०० रुपैयाँको बजेटमा २४ घण्टामा प्रयोगात्मक समाधान ल्याउने चुनौती दिइएको थियो।
त्यसपछि ग्रीन डेभलपमेन्ट बैंकका सीईओ हरि बहादुर बुढाथोकीले वित्तीय विश्लेषण र बजार जोखिम मूल्याङ्कनबारे व्यावहारिक अभ्यास गराउनुभयो। Bibek Shrestha & Associates का बिबेक श्रेष्ठले बौद्धिक सम्पदा अधिकार र ट्रेडमार्क दर्ताको कानुनी प्रक्रिया सिकाउनुभयो।
तेस्रो दिन श्री रामप्रसाद तिवारी र विजय भट्टराईले पिच डेक, ब्रान्डिङ, कस्टमर जर्नी म्यापिङ र गो-टु-मार्केट रणनीति सम्बन्धी प्रशिक्षण दिनुभयो। सहभागी टोलीहरूले Facebook Ads Manager मा डेमो क्याम्पेन सञ्चालन गरी डिजिटल बजारको अनुभव प्राप्त गरे। कार्यशालाको Seed Fund सम्बन्धी मार्गदर्शन श्री विश्वास आचार्यले गर्नुभयो। कार्यक्रम सञ्चालन उप–प्राध्यापक जीवन भण्डारीले र स्वागत मन्तव्य उप–प्राध्यापक डा. शान्ति देवी क्षेत्रीले गर्नुभएको थियो। कार्यशाला असार १, २०८२ सम्म चल्नेछ ।