पोखरा विश्वविद्यालय १७ औं वर्षमा प्रवेश-शिक्षासँग खेलवाड नगरौ– उपकुलपति

पोखरा विश्वविद्यालय श्रावण १ गतेदेखि १७ औं वर्षमा प्रवेश गरेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ अन्तर्गत वि.सं. २०५४ सालमा पोखरा विश्वविद्यालयको स्थापना भएको थियो । औपचारिक रूपमा २०५४ साल श्रावण १ गतेदेखि कार्य आरम्भ गरेको दिनलाई विश्वविद्यालयले विश्वविद्यालय दिवसको रूपमा मनाउँदै आएको छ ।

17-pu-birthday

विश्वविद्यालयको १७ औं वर्षगाँठको अवसरमा विश्वविद्यालयको हाताभित्र सञ्चालित कार्यक्रममा शुभकामना मन्तव्य दिंदै विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईले विश्वविद्यालयको मुख्य लक्ष्य भनेको क्वालिटी एजुकेशन हो भन्नुभयो । क्वालिटी भन्ने चिज धेरै कुरासँग गाँसिएको छः कोर्षसँग गाँसिएको छ, क्लासरूम परफर्मसँग गाँसिएको छ, क्यालिटिको एक्जामिनेशनसँग गाँसिएको छ र सँगसँगै क्यालिटी समयसँग पनि गाँसिएको छ भन्दै उपकुलपति भट्टराईले चार वर्षको कोर्ष तपाईले कति वर्ष लगाएर कम्लिट गर्नुहुन्छ ? भन्ने प्रश्न पनि गर्नुभयो । उहाँले क्यालिटी एजुकेशनका लागि एकाडेमिक क्यालेण्डर निर्वाध रूपले सञ्चालन हुनुपर्ने उल्लेख गर्दै एकाडेमिक क्यालेण्डर सहि रूपमा सञ्चालन गर्न नसकेमा र क्वालिटी एजुकेशन दिन नसकेमा विदशी विश्वविद्यालयले सञ्चालन गरेका कार्यक्रमसँग हाम्रा विश्वविद्यालयमा सञ्चालित कार्यक्रमले प्रतिस्पर्धा गर्न कठिन हुने बताउनुभयो । शिक्षासँग कसैले खेलवाड गर्न नहुने उल्लेख गर्दै उपकुलपति भट्टराईले परीक्षाको तालिका सार्ने, समयमा परीक्षा हुन नदिने, समयमा रिजल्ट नहुने र समयमा कोर्ष नसकेमा विद्यार्थी, समाज र राष्ट्र सबैलाई वेफाइदा पुग्ने बताउनुभयो ।

tol1
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विश्वविद्यालयका रजिष्टार प्रा.डा. मानबहादुर के.सी.ले पोखरा विश्वविद्यालय एउटा अग्रणी शैक्षिक ज्ञानभूमिको रूपमा स्थापित भएर आफ्नो प्रतिष्ठा र आफ्नो विश्वसनियतालाई जोगाउँदै अहिलेसम्म थुप्रै बाधा व्यवधान र थुप्रै कमी–कमजोरीका बावजूद पनि यस क्षेत्रको एउटा शैक्षिक धरोहरका रूपमा अझैपनि खडा रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालय विभिन्न खाले समस्या र चुनौतिबाट गुज्रिरहेको उल्लेख गर्दै विश्वविद्यालयलाई यसको निरन्तरता, यसको इतिहास र गरिमालाई निरन्तरता दिंदै थप जिम्मेवारी प्रदान गर्न कहिकतै चुकेमा हामीलाई समाज र राष्टले स्वीकार नगर्ने बताउनुभयो । रजिष्टार के.सी. ले विश्वविद्यालयमा बढि हावी हुँदै गएका प्रेसर गु्रपहरूले विश्वविद्यालयलाई निर्णायक हैसियमा कार्य गर्न नदिएको उल्लेख गर्नुभयो । उहाँले त्यस्ता प्रेसर ग्रुपहरूले संस्थागत गरिमा, मर्यादा, त्यसको नम्स, स्ट्याण्डर्डलाई यथावत कायम राखेर त्यसभित्रबाट सम्भव हुने खालका सुविधाहरूमा मात्र आवाज उठाउन सान्दर्भिक हुने बताउनुभयो । तर दिनहरू जति जटिल भएपनि, जति परिस्थिति असहज भएपनि तिनलाई सामना गर्नुको विकल्प छैन भन्दै रजिष्टार के.सी. ले तिनलाई सामना गर्न हामी सबैमा फराकिलो दृष्टिकोण, एकताबद्ध खालको समझदारी, इमान्दारिता र कर्तव्यपरायणता हुनुपर्ने उल्लेख गर्नुभयो ।

netra1

कार्यक्रममा शिक्षा पुरस्कार २०६९ बाट पुरस्कृत हुनुभएका विश्वविद्यालयका सहायक प्रशासक टोलमाया थापा र कार्यालय सहयोगी नेत्रप्रसाद पौडेललाई नगद, मेडल तथा प्रमाणपत्र दिई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सहायक प्रशासक टोलमाया थापाले शिक्षा पुरस्कारको लागि विश्वविद्यालयबाट न्यायोचित सिफारिस हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा संकायका डीनहरू, पोविका अन्य पदाधिकारीहरू, निकायका प्रमुखहरू, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।