एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्ग विषयमा पठनपाठन सुचारू

पोविमा एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्ग विषयमा पठनपाठन सुचारू

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्माले पोखरा विश्वविद्यालयको स्तरोन्नतिका लागि समय सापेक्ष कार्यक्रमको सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले उक्त विचार एमएस्सी स्ट्रक्चरल इञ्जिनियरिङ्गका विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको एकदिने अभिमुखीकरण कार्यक्रमको २०७४ वैशाख ४ गते सोमबार उद्घाटन गर्दै बताउनुभएको हो । शिक्षण सिकाई र अनुसन्धान गतिविधिमा लक्षित गरी आयोजित उक्त अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उपकुलपति शर्माले सबैको साथ र सहयोग प्राप्त भएमा अन्य विधामा पनि नयाँ कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । ।

उक्त अभिमुखीकरण कार्यक्रमलाई विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, स्कूल अफ इञ्जिनियरिङ्का डीन ई. बुद्धिराज जोशी, स्कूल अफ ईञ्जिनियरिङ्का स्कूल निर्देशक ई. अर्जुन गौतम, स्कूल अफ ईञ्जिनियरिङ्का प्रा.डा. टेकराज ज्ञवाली र पोखरा विश्वविद्यालय एनआइटेक परियोजनाका निर्देशक प्रा.डा. योनसिक हानले सम्बोधन गर्नुभएको थियो । विनाशकारी भूकम्पपछिको विषम परिस्थितिमा देशको पूर्ननिर्माणका सन्दर्भमा स्ट्रक्चरल इञ्जिनियरिङ्गको उपादेयता र महत्व बढ्न गएकोले विश्वविद्यालयले सो विषयमा पठन पाठन शुरु गरेको हो । विश्वविद्यालयमा प्रथम पटक आङ्गिक कार्यक्रमको रूपमा सो कार्यक्रम सञ्चालन गरिएको हो । हाल उक्त कार्यक्रममा कुल १५ जना विद्यार्थी भर्ना लिई पठनपाठन शुरु गरिएको छ ।

अभिमुखीकरण कार्यक्रमलाई प्रा.डा. पद्मबहादुर शाही, ई. सन्तोष श्रेष्ठ, पुल्चोक क्याम्पस; डा. इन्द्रप्रसाद आचार्य, पुल्चोक क्याम्पस, प्रा.डा. किम, एनआइटेक परियोजना, ई. महेन्द्रबहादुर गोदार, पोखरा लेखनाथ महानगरपालिका, प्रा.डा. गोकर्णबहादुर मोत्रा, प्राचार्य, पुल्चोक क्याम्पस; डा. हेमचन्द्र चौलागाई, स्कूल अफ ईञ्जिनियरिङ्ग, पोवि लगायतले सहजिकरण गर्नुभएको थियो ।