परीक्षालाई स्तरीय तुल्याउने हेतु कार्यशाला सम्पन्न

पोखरा विश्वविद्यालयले परीक्षालाई व्यवस्थितरूपमा स्तरीय र मर्यादित तुल्याउने हेतु देशका विभिन्न स्थानमा परीक्षा र मूल्यांकन प्रणाली विषयमा एक, एक दिने कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ ।
पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आयोजना र विश्वविद्यालय अन्तर्गतका महाविद्यालयहरूको सहभागितामा गत पौष १० गते काठमाडौंमा, पौष २७ गते पोखरामा, माघ ३ गते धनगढीमा र माघ ५ गते बुटबलमा चरणबद्धरूपमा कार्यशाला सम्पन्न भएका छन् ।
कार्यशालामा विभिन्न विषयका प्रश्नपत्रहरूको निर्माण प्रक्रियामा देखिएका त्रुटिहरू तथा उत्तरपुस्तिका परीक्षणमा देएिका कमजोरीहरूलाई कसरी निकास दिन सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरी समूहगत रूपमा बृहत छलफल गरिएको थियो ।
कार्यशालालाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्मा, पोखरा विश्वविद्यालय व्यवस्थापन विषयसमितिका अध्यक्ष प्रा.डा. प्रेमराज पन्त, परीक्षा नियन्त्रक भरतराम ढुङ्गाना, प्रा.डा.राजनबहादुर पौडेल लगायतले आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।